११ आश्विन २०८१, शुक्रबार

सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओलीसँग माग

कोलोराडोखबर संवाददाता , September 24th, 2024

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्न माग गरेका छन् ।

सान फ्रान्सिस्को सहरमा नेपालीहरूको संख्या बढ्दो भएकाले कन्सुलेट कार्यालय माग गरिएको क्यालिफोर्नियाका एनआरएनए अभियन्ताहरूले बताएका छन् ।

क्यालिफोर्नियाका एनआरएनए अभियन्ताहरूले कार्यालय स्थापनाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई न्यूयोर्क पुगेर होटलमै भेटी ज्ञापनपत्र बुझाएका हुन् । राप्ती समाज अमेरिका अध्यक्ष सुरेश हमालसहितको टोलीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएको न्यान्सका अध्यक्ष प्रितेश कार्कीले जानकारी दिए ।

ज्ञापनपत्रमा क्यालिफोर्निया राज्यमा करिब १ लाख नेपालीको बसोबास रहेको र राहदानीलगायत सेवा लिन कठिनाइ भएको उल्लेख गरिएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बेला पनि क्यालिफोर्निया च्याप्टरले ज्ञापनपत्र बुझाएको थियो ।

अमेरिकाको वासिङ्टन डीसीमा नेपाली दूतावास र न्यूयोर्कमा मात्र कन्सुलेट जनरलको कार्यालय छ । यी निकाय अमेरिकाको पूर्वी क्षेत्रमा हुँदा पश्चिमी क्षेत्रका क्यालिफोर्नियालगायत राज्यमा बस्ने नेपालीहरूलाई समस्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्