-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा धर्म संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको इन्द्रजात्रा भब्य रूपमा सम्पन्न भएको छ ।
कोलोराडो नेवाः खलःको आयोजनामा बर्षा र सहकालका देवता ईन्द्रको पूजा आराधना गर्दै नेवाः समुदायले मनाउने येंयाः नेपाली साँस्कृतिक केन्द्र नेपाली घरको प्राङ्गणमा कुमारीको रथ तान्दै, पुलुकिसी नाच, धिमेबाजा धिमेनाच, लाखे नाचका साथ भब्यरूपमा सम्पन्न भएको हो ।
जात्रा गणेश, कुमारी, अकाश भैरवको विधीपूर्वक पूजा अर्चना गरेर शुरू गरिएको थियो । रथ यात्रा पछि तीन जीवित देवी देवताहरूलाई स्वागत द्वार हुँदै धिमेबाजाका साथ मञ्चमा आसिन गराइ कार्यक्रम अगाडि बढाइएको थियो । नेवारी राष्टिय गान गाएर सुरूगरिएको कार्यक्रममा कोलोराडो नेवाः खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गरेका थिए । त्यस्तै कलाकार दिदी बहिनीहरूले नेवारी गीत संगीतमा शुन्दर नृत्य प्रश्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीय संघ संस्थाका पदाधिकारी बुद्धिजिवी, समाजसेवी, ब्यवसायी, कलाकार, पत्रकार, नेपालीभाषी बाबा आमा दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । अधिकांश नेवाः समुदायका दाजुभाइ दिदी बहिनीहरू नेवाः समुदायको परंपरागत पहिरहनमा सजिएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमलाइ हेरी रहदा आफुलाइ बसन्तपुर ढवलीमा बसेर कार्यक्रम हेरेको भान हुन्थ्यो ।
कार्यक्रममा कुमारी रथ निर्माण कार्यमा अहोरात्र खटिएर रथ तयार पार्नुहुने महानुभावहरूलाइ बरिष्ठ कलाकार हिरण्य भोजपुरे, समाजसेवी नारायण श्रेष्ठ र नेवाः खलका संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले प्रशंसापत्र प्रदानगरी सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका बरिष्ठ कलाकारहरू कृष्ण मल्ल र शर्मिला मल्लको पनि उपस्थिती रहेको थियो ।
दिउसो १२ बजे देखी ४ बजे सम्म संचालन भएको कार्यक्रम रमिता तुलाधर र सबिता श्रेष्ठले संयूक्त रूपमा संचालन गरेका थिए । कार्यक्रमको अन्तमा सहभागी सबैलाइ प्रसाद स्वरूप समेवजी बितरण गरिएको थियो ।
इन्द्रजात्रा काठमाडौं , भक्तपुर, ललितपुर, लगायत नेवाः समुदायको बस्ती रहेका स्थानमा इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवाः समुदायले मनाउने जात्रा हो । इन्द्र जात्राको प्रमुख कार्य नै लिंगो ध्वजा स्थापना हो । मठै मठ र मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल मानिन्छ । जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरू भई मंगल चौथीसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी सम्पन्न गरिन्छ ।
आफ्नी आमा वसुन्धराको व्रत निम्ति स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा उनलाई चोर भनी डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको संझनामा इन्द्रजात्रा मनाउने गरिन्छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगिन् भन्ने कथन अझै नेवाः समुदायमा जिवितै छ ।
यस अवसरमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । काठमाडौंमा मजिपा लाखे नाच तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा पुलुकिसि प्रदर्शन गरिन्छ भने भक्तपुरमा महाकाली नाच, दसअवतार नाच नचाउने गरिन्छ ।
भिडियोका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
प्रतिक्रिया दिनुहोस्