अमेरिका । अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ ।
वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजना गरिएको ‘नेपाल डे’ कार्यक्रममा कार्यवाहक राजदूत कुमार खरेलले नेपालको संविधान २०७२ का विशेषताका बारेमा जानकारी गराउनुभएको थियो ।
नेपाल डे कार्यक्रममा गैरआवासीय नेपालीहरुको तर्फबाट गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेले संविधान दिवसको महत्वबारे चर्चा गर्दै नेपालको संविधानले व्यवस्था गरेअनुसार ऐन कानुन निर्माण गरी गैरआवासीय नेपाली नागरिकतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली राजदूतावासका प्रतिनिधिहरु, अमेरिकास्थित नेपाली समुदायका विभिन्न संंघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । नेपाल डे कार्यक्रमको सन्दर्भमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले नेतृत्वको टोलीले टेक्ससको ड्यालसमा तत्काल कन्सुलर शिविर सञ्चालन तथा ड्यालसमा कन्सुलर अफिस स्थापनाका लागि कार्यवाहक राजदूत खरेललाई ज्ञापनपत्र बुझाएको थियो ।
यसैबीचमन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको संविधानले लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार, मौलिक हकजस्ता विश्वव्यापी मूल्य–मान्यतालाई समेटेको बताउनुभएको छ ।
नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा संयुक्त राज्य अमेरिकाको वाशिङ्गटन डिसीस्थित राजदूतको निवासमा आयोजित समारोहमा उहाँले संविधान कानुनी रूपरेखा मात्र नभई हाम्रा मूल्य र सिद्धान्तको प्रतिबिम्ब भएको बताउनुभयो ।
अध्यक्ष रेग्मीले भन्नुभयो, “इतिहासको यो महत्वपूर्ण क्षणमा लोकतन्त्रका लागि बलिदानी दिने योद्धाकोे त्यागको स्मरण र संविधानको रक्षा गर्न प्रेरणा देओस् ।”
विधिको शासनले लोकतान्त्रिक, समावेशी र समृद्ध समाज निर्माणमा योगदान दिने विश्वास व्यक्त गर्दै उहाँले लोकतन्त्रप्रति सबै राजनीतिक दलको पूर्ण प्रतिबद्धता जाहेर गर्नुभएको पूर्वअध्यक्ष रेग्मीका प्रेस सल्लाहकार राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो ।
त्यसअवसरमा पूर्वअध्यक्ष रेग्मीले नेपाल–अमेरिकाबीचको सम्बन्धको चर्चा गर्दै अमेरिका हाम्रो प्रमुख विकास साझेदार मात्रै नभई व्यापार र विदेशी लगानीको ठूलो स्रोत भएको बताउनुभयो ।
त्यहाँस्थित कार्यवाहक राजदूत कुमारराज खरेलले नेपाल–अमेरिका सम्बन्धका विभिन्न पाटो पक्षकाबारे चर्चा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्