–रमेशचन्द्र घिमिरे–
‘विजयी प्रतियोगीको हौसलाका लागि ताली बजाउन कन्जुस्याइँ नगरौँ ।’
उद्घोषकले यसो भन्दै गर्दा ताली परर्र बजिरह्यो ।
पुरस्कार पाउने विद्यार्थीहरू एकपछि अर्को आउँदै गरे । पुरस्कार थन्क्याउँदैको व्यस्तताले उनीहरूले अरू पुरस्कृतको हौसलाका लागि ताली बजाउन भ्याएनन् ।
‘खै, ताली ?’ उद्घोषक शिक्षक फेरि चिच्याए । ताली पिट्नेले पिटिरहे । अर्काका लागि ताली पिट्दा पिट्दा एकथरि थाके ।
पुरस्कार पाउने विद्यार्थीहरूले निधार रातै बनाए, पुरस्कारको बोकिनसक्नुको भारी बोक्दै फर्किए ।
ताली पिट्नेहरू एउटा चकलेट पनि खान नपाई निन्याउरो मुख लगाएर घर फर्के ।
सरहरूले भनेबमोजिम ताली नपिटेबापत गाली खाने उनै थिए, रित्तो हात घर आएकोमा पनि गाली उनैले खाए ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्