८ मंसिर २०८१, शनिबार

हेटौंडामा गाम्नागेका ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , September 20th, 2024

नेपाल (हेटौंडा) । हेटौँडामा एक कार्यक्रमबीच सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले चर्चित हास्यव्यङ्ग्य कविताहरू वाचन गर्नुभएको छ ।

सिस्नुपानी नेपाल मकवानपुरको पाँचौँ अधिवेशनका क्रममा गाम्नागेका ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ कार्यक्रममा गाम्नागेले आफ्ना १३ कविताहरू प्रस्तुत गर्नुभयो ।

सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले सहजीकरण गर्नुभएको वाचन सत्रमा गाम्नागेले ‘१९ रसका कविता’, ‘सहिदका सपना’, ‘हेलो लक्ष्मण गाम्नागे– सञ्चै ?’, ‘बाहिर निस्कनु हानिकारक छ’ लगायतका व्यङ्ग्य कविताहरू सुनाउनुभयो । त्यसो त ‘आमाको चिठी’ र ‘बा’ कविताबाट समाजमा व्यस्त दैनिकी तथा भविष्य बनाउने नाममा सहर पसेर बेपत्ता भएका सन्तानबाट बुढाबुढीप्रतिको बदलिँदो व्यवहारलाई कटाक्ष गर्दा कार्यक्रमस्थल नै गडगड तालीले गुञ्जायमान भएको थियो ।

‘सरकारलाई सघाउनोस्’ भन्दै कविता सुनाउँदा होस् वा ‘खाउँ साथी हो खाउँ’ देखि ‘लेख्न बाँकी एउटा राष्ट्रवादी कविता’ पढ्दै गर्दा स्रोता दर्शक पनि कवितामैँ लिन भइरहेको पाइन्थ्यो । कार्यक्रममा गाम्नागेका २ कविताहरू सिस्नुपानी नेपालका सदस्य चक्र दवाडीले वाचन गर्नुभयो ।

सामाजिक मुद्दादेखि राजनीतिक विसङ्गतिका विषय अनि पारिवारिक विखण्डनदेखि आधुनिक संस्कारमा देखिएका खराब पक्षहरूमाथि हास्य र व्यङ्ग्यमार्फत् पेचिलो लेखनमा सक्रिय गाम्नागेले यस कार्यक्रमबाट हेटौँडेलीहरूको मन जितेका सहभागीहरूले बताएका छन् ।

आफू लामा कविता लेख्न रूचाउने बताउनु भएका गाम्नागेको कविता श्रवणका लागि करिब ३ सय दर्शकरस्रोताहरूको उपस्थिति रहेको थियो ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्