–आर.आर. चौलागाईं–
माथिबाट हाकिमको सरुवाको चिठी आयो । भोलिपल्टदेखि कर्मचारीहरू ठूलठूलो स्वरले हाकिमको निन्दा गर्न थाले ।
एउटाले भन्यो– ‘यो हाकिमजस्तो निर्दयी त कोही देखिनँ । अब जाने भो ठिकै भो ।’
अर्कोले थप्यो– ‘घूस कति खान्छ नि, जति भए पनि नपुग्ने । एक सुका पनि नभेटे हुन्थ्यो अब ।’
अझ अर्को उफ्र्यो–‘सरुवाको मात्रै आएछ । अझ खारेजीकै चिठी आउनुपर्ने, अनि देख्थ्यो बाबुको बिहे !’
त्यसको केही दिनपछि अचानक हाकिमको सरुवा रद्द भएको अर्को चिठी आइपुग्यो । भोलिपल्टदेखि तिनै कर्मचारीहरू हाकिमले सुन्ने गरेर नै प्रशंसा गर्न थाले ।
‘यो हाकिमजस्तो दयालु त कोही देखिनँ । सरुवा रोकियो । बडो राम्रो भो ।’
‘घूस भनेको खाँदै नखाने कस्तो इमान्दार ! सबैजना यस्तै भइदिए पो !’
‘कुनचाहिँ बेवकूफ रहेछ त्यो सरुवा गर्न खोज्ने, बल्ल थाहा पायो होला नि !’
–हेटौँडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्