–समीर पाख्रिन–
बाआमा शनिवार घर पस्न हुँदैन मंगलबार घरबाट निस्कनु हुँदैन भन्नू हुन्थ्यो । मेरो कलिलो दिमागमा यो कुराको गहिरो छाप बस्दै गयो । म बाहिर कतै गए पनि शनिवार घर पस्दिन थिएँ भने मंगलबार घरबाट बाहिर यात्रा गर्दिन थिएँ ।
बिद्यार्थी छँदा स्कुलले ५ दिने शैक्षिक भ्रमणको सूचना जारी गर्यो । शनिवार प्रस्थान गरेर मंगलवार फर्कने कार्यक्रम रहेछ । म सहभागी हुन सकिनँ । साथीहरू पश्चिमाञ्चल सबै ठाउँ पुगेर सकुशल फर्किए ।
बीबीएको दीक्षान्त समारोहका लागि मंगलबारको दिन कलेजले एउटा बस काठमाडौं पठाउने भयो । तर म भनेँ सोमबारै घरबाट आफ्नो खर्चमा काठमाडौं पुग्नु पर्यो । त्यो पनि एक्लै ।
एवम् रितले दिनहरू बित्दै गए । पढाई सिध्याइ सकेको थिएँ र कामको खोजीमा थिएँ । धेरै जगह कोसिस गरेँ तर सफल भइँन ।
सबैले बिदेश जाने सल्लाह दिए । जाने पक्कापक्की पनि भयो । मलाई जापान पुग्नु थियो । मंगलबार बाहेकको टिकट लिन अनेक कोसिस गर्यौं, तर सम्भव भएन । अन्ततः मलाई मंगलबारनै घरबाट प्रस्थान गर्नु पर्यो ।
सबैजना बिदा गर्न एयरपोर्ट पुगे । बाआमाले सुकसुकाउँदै यात्रा सफल रहोस् भन्नू भयो ।
तेश्रो दिन फोन गरेर सकुशल जापान पुगेको सूचना फोन मार्फत दिएँ ।
पछि सुने मेरा बाआमाले म जापान उडेकै दिनदेखि यसलाई अन्धविश्वास ठानेर परित्याग गरेछन् ।
–हेटौंडा ,मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्