९ मंसिर २०८१, आईतवार

कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार

कोलोराडोखबर संवाददाता , September 10th, 2024

नेपाल । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विक्रम सम्वत २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई अर्पण गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरिएको थियो ।

द्वैत, अद्वैत तथा बहुलवादमा आस्था भएपनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्गहरू अनेक भएपनि मुहान एक रहेको व्याख्या गर्दै मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापना गर्ने विषयमा अत्यन्तै परिस्कृत तथा बोधगम्य भाषा र शैलीमा अद्वैत उपन्यास लेखिएको छ । प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुनुहुन्छ । प्रा. गौतमका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

त्यस्तै नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहुनुभएका साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चाम्लिङलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको छ । । चाम्लिङ २४ बर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री हुनुहुन्थ्यो ।

यता, समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गर्नुभएका त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत तथा नागरिक समाजका अभियन्ता प्राडा केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गर्ने निर्णय गरिएको छ ।

यी पुरस्कारको राशी जनही रु ३ लाख तथा सम्मान पत्र रहेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्