११ आश्विन २०८१, शुक्रबार

अमेरिकाको क्यालिफोर्निया निवासी अग्रज पत्रकार एनपी उपाध्यायको निधन

कोलोराडोखबर संवाददाता , September 9th, 2024

अमेरिका । अमेरिकाको क्यालिफोर्निया निवासी अग्रज पत्रकार एनपी उपाध्याय (नरेन्द्रप्रसाद उपाध्याय) को निधन भएको छ । उनको अमेरिकाको क्यालिफोर्नियाको समय अनुसार आइतबार ३ः३८ बजे बिरामी भएर उपचारका क्रममा अस्पतालमै निधन भएको हो ।

युवा पुस्तामाझ नरेन्द्र दाइका नामले चिनिने वरिष्ठ पत्रकार उपाध्यायको जन्म सन् १९४० मा सप्तरी जिल्लाको बैरवामा भएको थियो । विराटनगरमा हुर्किएका उपाध्यायले आदर्श विद्यालयमा अध्ययन गरे र सन् १९६० को दशकको मध्यतिर काठमाडौँ आएका थिए ।

उपाध्यायले ज्योति साप्ताहिकबाट पत्रकारिता (सन् १९६९) यात्रा शुरु गरेका थिए । उनले पछि आफ्नै सम्पादनमा टेलिग्राफ साप्ताहिकको प्रकाशन प्रारम्भ गरे ।

अंग्रेजी भाषाको सो साप्ताहिकलाई तीन दशक बढी समयसम्म निरन्तरता दिए । पत्रकार उपाध्यायले आफ्नो जीवनको धेरै समय शिक्षक र पत्रकारको रूपमा बिताए ।

विशेष गरी नेपाल र दक्षिण एसियाली राजनीतिक परिस्थितिबारे लेख्दै उनी नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय रहे । उनका लेखहरू मुख्यतः भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रबीचको भू–राजनीतिक तनावबारे केन्द्रित थिए।

यसैगरी उपाध्यायले कम्प्लेक्सिटिज अफ साउथ एसिएन पोलिटिकल अर्डर शीर्षकको पुस्तक पनि प्रकाशन गरेका छन् ।

उपाध्यायका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्