–सर्वज्ञ वाग्ले–
वर्षातको भेलमा पनि
आगोको फिलिङ्गोझैँ
उछिट्टिएर सल्किन खोज्छ
जिन्दगी यो
गोठमा जन्मिएर
ठालु हुन खोज्ने
भ्रष्ट बुद्धि त
होइन होला मेरो
दैनन्दिनी चलाउन
मेसिन बनेको शरीर यो
चढेर पहाडको थुम्कोमा
भत्केका सपनाहरूको
क्षितिज नियाल्छ
भत्किँदै छन् कर्मका
अवशेषहरू
निभ्दैछन् भविष्यका दियाहरू
दुःखको सागरमा पछारिएको
असहाय जीवन यो
जुद्धै छु तुफानसँग
हरतरहले
आँधी बनेर आएको
हुरीक्यानको भेलमा
अनवरत पौडींदै छु
आशाको त्यान्द्रो समातेर
थाक्न नहुने
मेरा भाग्य रेखाले
आफन्ती
र स्वजनकै
कपटपूर्ण भँगालाहरू
म जन्मनु अगाडि नै
तय गरेछन्
कोरिदिएछन् मेरा निम्ति
अभागी हस्तरेखाहरू
त्यसैले त
म सपनामा पनि
चिच्याउँदोरहेछु बेसरी
के म अभागी नै हूँ त ?
जीवनका गोरेटाहरूमा
कही कतै मैले चौतारी देखिन
म अनवरत यात्रामा छु
टेकेर अग्निपथ
घस्रेर चट्टानको पहाड
डुबेर भुमरीको गहिराई
बाँच्दैछु म जीवनको
एक अकाट्य नियम
सामन्तीको पीँजडामा
कैद मेरो आत्मा
बुर्जुवाको आदेशमा
परमादेश जारी हुँदा
क्षतविक्षत भविष्य बोकेर पनि
हिँड्न छोडेको छैन
जीवनको बाटो
डढेलो लाग्दा जलेका
वनस्पति र पशुपङ्क्षीजस्तै
रुग्ण छु
भग्न छु
कहालीलाग्दो मेरो
जीवनको रूपरङ्ग
खुसीहरूको अस्तु सेलाएर
फालेको मटकाझैँ
ढलेर सपनाका महलहरू
पुतलाजस्तै
पटकपटक जलाउँदै निभाउँदै
र फेरि फाल्दै गरेको
बेवारिसे जीवन
बौरेला कि भनी
रगतले बगाउँदा नबगेको
भुमरीबाट उछिट्टिएको
कठपुतली हूँ म
यद्यपि
फेरि डढेलोपछिको जङ्गलजस्तो
आशाका मुनाहरू पलाएको देख्दा
विश्वासको दीर्घश्वास फेर्छ
संघर्षको मैदानमा जिन्दगी ।
-हालः क्यालिफोर्निया, अमेरिका ।
प्रतिक्रिया दिनुहोस्