११ आश्विन २०८१, शुक्रबार

कमाइको १० प्रतिशत नेपालमा लगानी गरौंः एनआरएनए अध्यक्ष केसी

कोलोराडोखबर संवाददाता , September 1st, 2024

यूके । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीहरूलाई कमाइको निश्चित अंश नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।

उनले लिभरपुल नेपाली समाज, यूकेको आयोजनामा शनिबार लिभरपुलमा सम्पन्न नागरिकता, सम्पत्ति, भूपू गोर्खाको अधिकार र लगानीसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उक्त आग्रह गरेका हुन् ।

डा. केसीले भने, ‘नेपालसँगको सम्बन्ध निरन्तरताका लागि नेपालमा लगानी गर्न जरुरी छ । विदेशमा कमाएको १० प्रतिशत मात्र नेपालमा लगानी गर्न सके, देश समृद्धिको बाटोमा लाग्नेछ र दोस्रो पुस्तासँगको सम्बन्ध पनि कायम रहनेछ । त्यसैले, नेपालमा लगानी गरौँ ।’

उनले नेपालमा लगानीसँगै च्यारिटीका कार्यहरू गर्न पनि अनुरोध गरे । डा. केसीका अनुसार, गैरआवासीय नेपाली संघको पहलकै कारणले नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरेको छ र यो नागरिकताका कार्यान्वयनमा भएका कठिनाइहरू छिट्टै हट्ने विश्वास व्यक्त गरे । गैरआवासीय नागरिकता लिएपछि नेपालमा आफ्नो सम्पत्ति राख्न कुनै लिमिटेसन नहुने र एनआरएन नागरिकताले सम्पत्तिको पूर्ण सुरक्षा गर्ने उनले प्रस्ट्याए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले पनि गैरआवासीय नेपाली अभियानमा जोडिन आग्रह गरे । समाजका अध्यक्ष नेत्र खरेलको सभापतित्वमा भएको कार्यक्रममा संघकी उपाध्यक्ष रोजिना प्रधान राई लगायतका व्यक्तिहरूले आ–आफ्ना भनाइहरू राखेको एनआरएनए आईसीसीका प्रवक्ता फणिन्द्र पन्तले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्