९ मंसिर २०८१, आईतवार

बालकविताः हाम्रो फूलबारी

कोलोराडोखबर संवाददाता , August 31st, 2024

–रमेशचन्द्र घिमिरे–

मेरो प्यारो स्कुलको प्यारो फूलबारी
सजाउन मन छ मलाई फूलको बेर्ना सारी ।

फूलबारीमा फुल्ने फूल रङ्गीचङ्गी छन्
फूलबारीलाई माया गर्ने साथी सङ्गी छन्
चिरिच्याट्ट बनाउनु छ सफा सुग्घर पारी
हामी पनि सफा पारौँ हाम्रो फूलबारी ।

प्यारा मेरा गुरुहरू प्यारा साथीभाइ
माया गर्न जानेको छु मैलै सबैलाई
त्यस्तै माया गर्छु फूललाई गोड्छु झार फाली
यही मायाले झाङ्गिने छ हाम्रो फूलबारी ।

रमाउँदै स्कुलमा मैले टेकेपछि
मलाई पढ्ने जाँगर चल्छ यस्तो देखेपछि
फूलझैँ राम्रो हुन मन छ मनकै फोहोर फाली
हामी जस्तै सुन्दर बनाऔँ हाम्रो फूलबारी ।

खाल्टा खनौँ घोचो गाडौँ बार बनाई घेरौँ
छेस्का खोजौँ डोरी कसौँ वरिपरि बेरौँ
फूलबारीको जतन गर्ने बनौँ हामी माली
स्कुल जस्तै राम्रो बनोस् हाम्रो फूलबारी ।

-भोर्लेटार, लमजुङ ।

प्रतिक्रिया दिनुहोस्