नेपाल । नायक भुवन केसीको कार्यकाल सकिएपछि निर्देशक तथा कलाकार दिनेशराज दाहाल (दिनेश डिसी) चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई २ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्ड अध्यक्षका लागि आवेदन दिएका ६ जनामध्ये डिसीसहित दीपा पाण्डे बस्नेत र राजेश थापाको सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष तथा चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष समेत रहेका डिसी टेलिभिजन र रेडियो कार्यक्रम प्रस्तोताको रुपमा पनि चर्चित छन् । सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनय यात्रा सुरु गरेका उनले ५० बढी फिल्ममा अभिनय गरिसकेका छन् ।
सन् २००६ मा आएको फिल्म ‘सावधान’बाट निर्देशन करिअर सुरु गरेका उनले त्यसपछि ‘दाईको ससुराली’, ‘मायाज् बार’, ‘६ एकान ६’ हुँदै पछिल्लो पटक ‘फूलै फूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए । २०७९ सालमा उनले आफ्नो निर्देशनमा नयाँ फिल्म ‘सर्वजीत’ बनाउने घोषणा गरेका थिए । तर, यो फिल्म निर्माण हुन सकेको छैन । उनी चाँडै फिल्म ‘एक्लो’मा काम गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्