नेपाल । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना साउनमा आयातनिर्यात दुवैमा कमी आएको छ ।
मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आयातनिर्यातमा सङ्कुचन आएको हो । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा आयात ०.६७ प्रतिशतले घटेर एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपियाँको भएको छ ।
गत वर्ष सो अवधिमा एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपियाँको आयात भएको थियो । यस्तै चालु आवको साउन महिनामा निर्यात ९.६३ प्रतिशतले घटेर १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपियाँको निर्यात भएको थियो ।
व्यापार घाटा ०.३८ प्रतिशतले वृद्धि भई एक खर्ब १६ अर्ब १५ करोड १० लाख रुपियाँ पुगेको छ । आव २०८०–८१ को साउनमा एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख रुपियाँ व्यापार घाटा थियो । कुल वैदेशिक व्यापार भने १.५२ प्रतिशतले कमी आई एक खर्ब ४० अर्ब ६० करोडमा झरेको छ । गत आवको साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख थियो । आयातनिर्यात दुवैमा सङ्कुचन आए पनि साउनमा भन्सार राजस्व भने बढेको छ ।
प्रतिक्रिया दिनुहोस्