९ मंसिर २०८१, आईतवार

साहित्य संगम मकवानपुरको सन्ध्या दिवसः चार पुस्ताका कवि एउटै मञ्चमा

कोलोराडोखबर संवाददाता , August 20th, 2024

नेपाल (हेटौंडा) । मकवानपुरे माटोमा कविताको अघोषित पाठशाला हो साहित्य सङ्गम मकवानपुर । यसले विधिवत रूपमा महिनाको दोस्रो शनिवार साहित्य सन्ध्याको शुभारम्भ गर्यो विक्रम सम्वत २०४७ भाद्र ०२ गते ।

यसै दिनमा अर्थात् हरेक भाद्र ०२ लाई सन्ध्या दिवसको रूपमा मनाउँछ । सो दिनमा वर्षभरि सबैभन्दा धेरै उपस्थित जनाउने कवि– साहित्यकारलाई सम्मान गर्छ ।

यस पटक त्रिसत्यमा आधारित महाकाव्य लेख्ने चेतप्रसाद पौडेल (सैँपुले साइँलो) सम्मानित भए ।

यसैअवसरमा सन्ध्या विशेष कार्यक्रममा कविता वाचनको आयोजना हुन्छ । वर्षभरिको सन्ध्यामाथि समीक्षा चर्चा परिचर्चा हुन्छ । यो पनि भनौं यो दिनको वातावरण साहित्यिक सन्ध्यामय हुन्छ । यसै मेसोमा भाद्र २ गते आइतबार ३५औं सन्ध्या दिवस संयुक्त कविता वाचनको आयोजना गरी सम्पन्न भयो ।

पछिल्लो छिमलकी अनुसुया खनालदेखि, बीचको पुस्ता प्रतीमा पाठक, सुवास खनालदेखि दोस्रो पुस्ताका साम्ब ढकालसम्मकाले आफ्ना तीन–तीन थान कविता सुनाएर सन्ध्याको मैजारो भयो ।

कान्तिराज पथको रेड पाण्डा रेष्ट्राँको प्रेक्षालयमा अपराह्नको समय मकवानपुरमा बसेर साहित्यिक साधना गरिरहेकाहरूको बाक्लो उपस्थितिमा कविताको ग्राफ उक्लँदै र ओर्लँदै थियो ।

सङ्गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता, मनोज पोखरेलको सञ्चालन एवम् सङ्गमकै पूर्व अध्यक्ष व्यङ्ग्यकार तथा बुढ्यौली संस्थाका अभियन्ता आरसी रिजालको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्