१० मंसिर २०८१, सोमबार

१४ खर्ब ४५ अर्ब भित्रियो रेमिट्यान्स

कोलोराडोखबर संवाददाता , August 19th, 2024

नेपाल । गत आर्थिक वर्ष २०८०-०८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको देखिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १ सय ३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १ सय ९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७ सय ४ र २ लाख ७७ हजार २ सय ७२ रहेको थियो ।

त्यस्तै गत आर्थिक वर्षको अन्त्यसम्म मुलुकको कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । २०८० असारको तुलनामा यो ३२.६ प्रतिशतले बढेको हो ।

२०८० असारमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । २०८१ असारसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब २७ करोड कायम भएको छ । जबकि, २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको थियो । एक वर्षको अवधिमा अमेरिकी डलरमा पनि यस्तो सञ्चिति ३०.४ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्