७ मंसिर २०८१, शुक्रबार

उप-विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण सफल रहेको अमेरिकी दूतावासको प्रतिक्रिया

कोलोराडोखबर संवाददाता , August 17th, 2024

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अगस्ट १६ तारिख शुक्रबार भएको भेटमा उहाँहरुबीच दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो । उहाँले नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षासमेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा उपविदेशमन्त्री वर्माले दुई देशबीचको ७७ वर्षदेखिको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाका लागि खुसीको विषय भएको बताउनुभयो । उहाँले नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेकामा बधाई दिनुभयो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, पराराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

यता, नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी उप-विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण सफल रहेको प्रतिक्रिया जनाएको छ ।

व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्माले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालीहरुका लागि उज्जवल, दिगो र समावेशी भविष्य निर्माण गर्ने योजनाका लागि अमेरिकी सहयोग र अमेरिका–नेपाल साझेदारीबारे कुराकानी गएको दूतावासल उल्लेख गरेको छ ।

यसै क्रममा उप–विदेशमन्त्री वर्माले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न थप नयाँ हेलिकप्टर खरिदका लागि अमेरिका सहयोग गर्न सहमत भएको शुभ समाचार पनि सुनाउनु भयो। यसैगरी उहाँले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिको बारेमा कुरा गर्न Millennium Challenge Account Nepal का अधिकारीहरूसँग पनि भेट गर्नुभयो । युएसएआइडी नेपालको साझेदार नेपाल टि कलेक्टिभ टोलीसँग ठमेलमा स्वादिष्ट चिया पिउनुका साथै महिला उद्यमीहरूसँग पनि कुराकानी गर्नु भएको दूतावासको आधिकारिक फेसबुक अकाउन्टमा उल्लेख छ । (फोटोहरुः अमेरिकी दूतावास ।) –खेमप्रसाद बोलखे/नेपाल ।

प्रतिक्रिया दिनुहोस्