३ माघ २०८१, बिहीबार

नेपाली कलाकारहरुले बोस्टनबासी प्रवासी नेपालीहरुलाई छमछमी नचाए (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , August 13th, 2024

–सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । केही दिन अघि नेपालबाट अमेरिका भित्रिएका चर्चित नेपाली कलाकारहरुले बोस्टनवासी प्रवासी नेपालीहरुलाई छमछमी नचाएका छन् ।

पहिलो पटक अमेरिका भित्रिएका गायिकाहरु रचना रिमाल, शान्तिश्री परियार, ज्योति मगर र मोडल तथा कलाकार करिश्मा ढकालले अमेरिकाका लागि पहिलो सांगीतिक कार्यक्रम गर्दै बोस्टनवासी प्रवासी नेपालीहरुलाई छमछमी नचाएका हुन् ।

गत अगस्ट १० तारिख शनिबार आयोजना गरिएको उक्त कार्यक्रम फ्लाई नेपाको प्रस्तुतिमा अमेरिकाका विभिन्न सहरहरुमा हुनगइरहेको दुई महिने सांगीतिक कार्यक्रम ‘अब नाच्छ अमेरिका’ अन्तर्गतको पहिलो हो ।

अमेरिकाको बोस्टन सहरका लागि नेपालका पर्यटन प्रवर्धक तथा घरजग्गा कारोबारी मिलन गुरुङले संयोजन गरेको कार्यक्रमको मुख्य उद्देश्यहरु नेपाली गीत संगीतलाई प्रवर्धन गर्ने, नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने, आपसी सम्बन्ध कसिलो बनाउने र मनोरञ्जन दिलाउने रहेको थियो ।

कार्यक्रमको संयोजनकर्ता मिलन गुरुङले उपस्थित सबैलाई स्वागत गर्दै शुभारम्भ गरेको मूल कार्यक्रमको उद्घाटन, नेपाली राष्ट्रिय गान गाएर गरिएको थियो । यसअघि स्थानीय कलाकारद्वय सुशिला बस्नेत तिमल्सिना र सुश्मा अधिकारीले गीत गाउदै सांगीतिक माहोल तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने डिजेको भूमिका सन्दिप भट्टराईले सम्मालेका थिए ।

मुख्य सांगीतिक कार्यक्रमको पहिलो प्रस्तोताका रुपमा मोडल तथा कलाकार करिश्मा ढकाल मञ्चमा उत्रिएकी थिइन् । उनले नेपाली लोक भाकाका चर्चित गीतहरुमा निकै आकर्षक नृत्य पस्किएकी थिइन् । जुरुक्क जुरुक्क पार्ने उनका प्रस्तुतिहरुले कार्यक्रमको नाम ‘अब नाच्छ अमेरिका’ अनुसार सहभागीहरुलाई छमछमी नचाउन सफल भएको थियो ।

मोडल तथा कलाकार करिश्मा ढकाल

ढकाल पछि मञ्चमा रचना रिमाल उत्रिइन् । उनलाई उद्घोषक सुश्मा अधिकारीले प्रस्तुतिका लागि मञ्चमा आमन्त्रण गर्दा सहभागिहरुमा निकै उत्साह, जोस, उमङ्ग र खुशी छाएको थियो । सानै उमेरमा चर्चाको शिखर चुम्न सफल शालीन स्वभावकी उनले टन्न पैसा कमाउला भन्थ्यौ, नमुझे आमा दहीमा टिका, फोटो फिरेममा, उनको प्रिति पहिले हो कि, संझिने पानी छम्किने, ढुंगेधारालगायत चर्चित गीतहरु गाएर सहभागीहरुलाई मनोरञ्जन दिलाएकी थिइन् ।

गायिका रचना रिमाल

रिमाल आफ्नो प्रस्तुतिलाई बिटमार्दै मञ्चबाट बाहिरिएपछि शान्तिश्री परियार मञ्चमा उत्रिन् । उनले आफ्नो पहिलो प्रस्तुतिका रुपमा ‘बोल माया’ गीत गएकी थिइन् । यस गीतमा समेटिएका भावनात्मक वजसी शब्दहरु, सुमधुर संगीत, कर्णप्रिय स्वर र अमुल्य सन्देशका कारण सहभागीहरुलाई भावुक बन्न बाध्य बनाएको थियो । परियारले आफ्नो प्रस्तुतिका क्रममा माली गाइलाई, अरेली काँडैले, गलबदीलगायत गीतहरु गाएर सांगीतिक माहोललाई थप तताएकी थिइन् । उनी संयोगान्त र वियोगान्त दुबै विद्यामा पोख्त रहेकी गायीकाका रुपमा चिरपरिचित छिन् ।

गायिका शान्तिश्री परियार

अन्तिम प्रस्तोताका रुपमा चर्चित गायिका ज्योति मगर, मगर भेषभुषामा सजिएर तीज, चेलीका व्यथा र विरहलाई समेटिएको आफ्नो गीत ुमाईतीको मया बरीलै… गीत गाउँदै मञ्चमा उत्रिइन् । उनको पहिरन, गीत र हाउभाउले उनको स्थापित परिचयको प्रतिनिधित्व गरिरहेको थिएन् । उक्त वियोगान्त गीत गाउँदै गर्दा सहभागीहरु भने उनीसंगै भावनामा बगिरहेका थिए । उनले कान्छी मुसुक्कै, पैसा भुसुक्कै, खोली भित्र पानी, पहिलो भेटमै…गीतहरु गाएर सहभागिहरुलाई धित मर्ने गरी नचाइन् । प्रस्तुति दिने क्रममा उनले निकै उर्जाका साथ गायन, नृत्य र हाउभाउलाई उचित संयोजन गरेर सहभागीहरुलाई मन्त्रमुग्ध पारेकी थिइन् ।

गायिका ज्योति मगर

जब उनले मगर जातिको पहिचान खुल्ने पोशाक शरीरबाट उतारिन्, तब सांगीतिक माहोलको पारो एक्कासी ह्वात्तै बढ्यो । प्रस्तुतिका क्रममा उनले आफ्ना चर्चित गीतहरु ढाडे बिरालो, उही मुलाको सिन्की, जाली रुमाल, जिम्मल बाउकी छोरीलगायत गीतहरु गाएकी थिइन् । मगरको प्रस्तुतिमा सहभागीहरुले नाचेर र गाएर भरपूर मनोरञ्जन लिएका थिए ।

गायिका ज्योति मगर

कार्यक्रमको अन्तिममा कलाकारहरु र ‘अब नाच्छ अमेरिका’को प्रस्तोता फ्लाइ नेपाका प्रमुख बिनोद अधिकारीलाई बोस्टन कार्यक्रम आयोजक र स्थानीय संघ संस्थाहरुले सम्मान गरेका थिए । बोस्टन कार्यक्रमको संयोजनकारी भूमिका निर्वाह गरेका मिलन गुरुङले कार्यक्रम सफतापूर्वक सम्पन्न भएकोमा निकै खुशी व्यक्त गरेका छन् । उनले कार्यक्रम गर्ने अवसर प्रदान गर्ने फ्लाई नेपा, नेपालदेखि आएका कलाकारहरु, स्थानीय कलाकारहरु, डिजे, स्थानीय सहयोगी संघ संस्थाहरु, सहयोगीहरु, प्रायोजकहरुलगायतलाई धन्यवाद दिए । कलाकारहरुले पनि आयोजक तथा बोस्टनवासीहरुलाई न्यानो आतिथ्यता र आत्मीय मायाका दिएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

यसैगरी, कार्यक्रमका बारेमा प्रतिक्रिया दिंदै फ्लाइ नेपाका प्रमुख बिनोद अधिकारीले कार्यक्रम उत्साहजनक सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले ‘अब नाच्छ अमेरिका’ सांगीतिक कार्यक्रमको अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। बोस्टनको कार्यक्रम समापन भएसंगै अमेरिकाको बिभन्न २९ सहरहरुमा उक्त कार्यक्रम हुने कार्यतालिका बनिसकेको उनले बताए ।

सतप्रतिशत नारी कलाकाहरुले प्रस्तुति दिएको उक्त कार्यक्रमले नेपालीहरुको महान चाड हरितालिका तीजको अवसरमा ‘हामी नारी पनि कम छैनौं, हामी सक्छौं’ भन्ने नारी सशक्तिकरणको अमुल्य सन्देश दिने प्रयास गरेको थियो ।

गायिका सुशिला बस्नेत तिमल्सिना
गायिका सुश्मा अधिकारी

प्रतिक्रिया दिनुहोस्