अमेरिकाको न्यूयोर्कमा आयोजना सेप्टेम्बर १५ मा हुन लागेको ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ तयारी तीब्र रुपमा भइरहेको छ । यसैक्रममा सो कार्यक्रमबारे जानकारी दिन शनिबार नेपालको राजधानी काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा बागमती प्रदेशका नव–नियुक्त मन्त्री मधुकुमार श्रेष्ठको पनि उपस्थिति थियो । अवार्ड यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा हुन लागेको हो ।
कार्यक्रमको सबै व्यवस्थापन त्रिवेणी इन्टरटेनमेन्ट तथा दिलकुमारी केसी फाउन्डेसनको तर्फबाट नवराज केसीले गर्न लागेका हुन् ।
पत्रकार सम्मेलनमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, प्राबिधिक संघका अध्यक्ष पुस्कार लामा, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, निर्देशन दिनेश डिसी, उज्ज्वल घिमिरे, वरिष्ठ कलाकार निर शाह, केदार घिमिरे (माग्ने बुढा), कलाकार रमेश बुढाथोकी, सन्दीप क्षेत्री, स्वेता खड्का, अभिनेता रविन्द्र खड्का र बशुन्धरा भुषाल लगायतको उपस्थिति थियो ।
कार्यक्रमको सभापतित्व अभिनेता कृष्ण मल्लले गरेका थिए । कार्यक्रममा अभिनेत्री शर्मिला मल्लको जन्मदिनको केक समेत काटिएको थियो ।
‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि २०१६ देखि नियमित आयोजना हुँदै आएको छ । अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए ।
यो पटक एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह–प्रयोजक रहेको अवार्डको स्थानीय आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क र दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्क रहेको छ ।
नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको संयुक्त आयोजनामा यो कार्यक्रम आयोजना हुँदै आएको छ । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल रहेका छन् भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्ष नवराज श्रेष्ठ रहेका छन् । –खेमप्रसाद बोलखे/नेपाल
प्रतिक्रिया दिनुहोस्