७ मंसिर २०८१, शुक्रबार

बोस्टनमा आयोजित ‘नेपाल डे’ कार्यक्रम वर्षाका कारण बिथोलियो

कोलोराडोखबर संवाददाता , August 6th, 2024

-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) ले अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा आयोजना गरेको ‘नेपाल डे–२०२४’ कार्यक्रम वर्षाका कारण बिथोलिएको छ । अगस्ट ४ तारिखका दिन म्यासाच्युसेट्स राज्यको एभरेट सिटीको ग्लेन्डल पार्कमा आयोजना गरिएको उक्त कार्यक्रम भारी वर्षाका कारण बीचैमा बिथोलिएको हो ।

म्यासाच्युसेट्स राज्यको एभरेट सिटीको साझेदारी र स्थानीय नेपाली संघ संस्थाहरुको साथ रहेको उक्त कार्यक्रम उद्घाटन भएर अघि बढ्दै गर्दा पानी पर्न सुरु गरेको थियो । आयोजकले परिरहेको पानीको पर्वाह नगरी रोकिने आसमा कार्यक्रम सञ्चालन गरिनै रहेको थियो । तर, पानी रोकिनुको सट्टा झन बढी बर्सिनथालेपछि कार्यक्रमलाई बिचैमा रोक्न आयोजक बाध्य भयो । कार्यक्रम बिथोलिएपछि आयोजकले बढ्दै गएको वर्षाका कारण जनधनको क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कार्यक्रमलाई स्थगित गरेको सूचना जारी गरेर बिट मारेको थियो ।

नेपाली भाषा, भेषभूषा, संस्कृति, परम्परा, पहिचान आदिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने, सामुदायिक एकतालाई थप कसिलो बनाउने, विश्वको सर्वोच्च शिखर सगरमाथा, बीर गोर्खाली, शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपाल भएको सन्देश दिनेलगायत उद्देश्यहरु राखेर कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण बृहत सांस्कृतिक कार्यक्रम रहेको थियो । उद्घाटनसंगै नेपाल र अमेरिकाको राष्ट्रिय गानले दैलो उघारेको बृहत सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले पञ्चेबाजा बजाउँदा र यो नेपाली शीर उचाली गीत गाउदा कार्यक्रमको माहोल नेपालमय बन्न पुग्यो । यीसंगै केही कलाकारहरुले आकर्षक नेपाली नृत्य प्रस्तुत गर्न भ्याएपनि अन्य स्थानीय कलाकारहरु र नेपालका चर्चित कलाकारहरुको पालो आउनै नपाउदै कार्यक्रम बिथोलिन पुगेको थियो ।

सांगीतिक कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायकहरु हरि कर्माचार्य (गुल्मी गाइज व्याण्ड), दिपेश के भट्टराई र जेम्स प्रधानले आफ्ना प्रस्तुतिहरु दिने कार्यक्रम तालिका रहेको थियो भने, कलाकारहरु महादेव त्रिपाठी, अमित सुनार, मल्लिका कार्कीलगायत अन्य स्थानीय कलाकारहरु पनि उक्त सांगीतिक मञ्चलाई साझा गर्ने तयारीमा थिए । तर, कार्यक्रम बिचैमा स्थगित भएपछि सबैजना निरास र दुःखी भएका थिए।

कार्यक्रम सञ्चानकै क्रममा भारी वर्षा भएका कारण सुरक्षाका दृष्टिकोणले नचाहदा नचाहदै कार्यक्रम बीचैमा स्थगित गर्न बाध्य हुनुपरेको आयोजकले जनाएको छ । दुर्भाग्यवस कार्यक्रम बीचैमा स्थगित गर्न बाध्य भएको बताउँदै आयोजकले यसबाट पर्न गएको असर र असुविधाप्रति गहिरो दुःख प्रकट गरेको छ ।

साथै, कार्यक्रम भव्यताका साथ सफल बनाउने अभियानमा प्रत्यक्ष परोक्ष रुपमा साथ, सहयोग, हौसला र उत्प्रेरणा दिने संघ संस्था र व्यक्तिहरुलाई धन्यवाद दिदै प्राकृतिक प्रतिकूलताका कारण बाध्यात्मक परिस्थिमा कार्यक्रम स्थगितको निर्णय लिनु परेको प्रष्टिकरण दिएको छ।

कार्यक्रम स्थलमा नेपाली परिकारहरुका ९ वटा, नेपाली पहिचान बोकेका सरसामानहरुका ६ वटा, संस्थागत ९ वटा र घरजगगा कारोबारका ४ वटा गरी कुल २८ वटा स्टलहरु राखिएको थियो । स्टल राख्नेहरुले कार्यक्रम स्थगित हुँदा आफूहरुले ठूलो क्षति भएको दुःखेसो पोखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्