७ मंसिर २०८१, शुक्रबार

नेपथ्यको भव्य सांगीतिक प्रस्तुतीमा झुमे कोलोराडोवासी (फोटो फिचर)

कोलोराडोखबर संवाददाता , August 5th, 2024

कोलोराडो । अमेरिकाका सातवटा सहरहरूमा शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न साङ्गीतिक यात्रामा निस्केको नेपथ्यको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा भव्य रूपमा सम्पन्न भएको छ ।

स्थानीय आयोजक कोसेली कोलोराडो र लाली गुराँश एशोसियशनले नेपथ्यको प्रस्तुति कोलोराडो राज्यमा आजसम्मकै सबैभन्दा ठुलो नेपाली कार्यक्रम रहेको भएको प्रतिक्रिया जनाएको छ । कार्यक्रमलाई सभ्य र भव्य बनाउने रुपमा सम्पन्न गर्न साथ सहयोग गर्ने सबैलाई कोशेली कोलोराडाका प्रबन्ध निर्देशक बिनोद गुरुङले धन्यबाद दिए ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

अगस्ट ३ तारिक शनिबारका दिन साँझ सात बजे कन्सर्ट सुरु भएको थियो । पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाउँला’ गीतका भिडियोसँगै कन्सर्टको सुरुवाती प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट गरिएको थियो । त्यसलाई ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ ले निरन्तरता दियो ।

चालिस दिनमा सात कार्यक्रमको कार्यसूचीसहित कोलोराडोको डेनवर पुगेको नेपथ्यको पहिलो कार्यक्रम आत्मीय रहेको अनुभव ब्यान्डका अमृत गुरुङ सुनाउँदै थिए । ब्यान्ड पहिलोपटक प्रस्तुतिका क्रममा प्रवेश गरेको यो राज्यमा नेपाली समुदायको जीवन्त उपस्थिति देख्न पाउँदा आफूलाई खुसी लागेको अमृतले बताए ।

नेपथ्यका सर्वकालिक हिट गीतहरू समेटिएको कन्सर्टमा ब्यान्डको स्थापनाकालीन ‘आँगनैभरि’ देखि लिएर भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ सम्म अटाएको थियो ।

कार्यक्रमभरि पटकपटक नेपाली भाषा र पहिचानको पक्षमा विचार राखेका अमृतले आफूले पैदलै गाउँवस्ती घुम्दाका क्रममा कतिपय गीतहरू संकलन गर्ने अवसर पाएको सुनाउँदै, नेपाल आउँदा देश घुम्नु पनि सुझाए । यति भन्दै, अमृतले धौलागिरिको सेरोफेरो यात्रा गर्दा बनाएको गीत ‘सिरफुल’ सुनाए ।

कन्सर्टको अन्तिमतिर पुग्नै लाग्दा अमृतले ‘गाउँगाउँबाट उठ’ सुनाएपछि हलभित्र उफ्रिने दर्शकहरूको सङ्ख्या बढ्न पुगेको थियो । त्यस्तै ‘रेशम’, ‘तालको पानी’ र अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ सम्म पुग्दा दर्शकहरु झुमेका थिए ।

अमेरिका यात्राको प्रथम कन्सर्ट भव्य रूपमा सम्पन्न भएसँगै अबको दोस्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटीय सहर सानफ्रान्सिस्कोमा हुनेछ । त्यहाँस्थित ‘वारफिल्ड थिएटर’ मा अगस्त १० तारिखका दिन नेपथ्य आठ वर्षको अन्तरालपछि फेरि प्रस्तुत हुँदैछ ।

त्यसपछि भने ब्यान्ड क्रमशः ओहायो राज्यको राजधानी कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुत हुने नेपथ्यले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्