११ आश्विन २०८१, शुक्रबार

राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगलमा

कोलोराडोखबर संवाददाता , August 5th, 2024

पोर्चुगल । पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल पुगेको छ ।

विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि आवेदन संकलन गर्न विभागका निर्देशक मोतीबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली बिहीबार राजधानी लिस्बन पुगेको थियो ।

टोलीले लिस्बनस्थित गैरआवासीय नेपाली संघ पोर्चुगलको हलमा ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरेर शुक्रबारदेखि सेवा दिन सुरु गरेको छ । सेवा सुरु भएसँगै शिविर वरपर रहेका सेवाग्राही नेपालीको घुइँचो लाग्न थालेको टोलीका प्रमुख एवं विभागका निर्देशक मोतीबहादुर श्रीसले जानकारी दिए ।

शुक्रबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका वा हराएका र पोर्चुगलमा जन्मेका नेपालीका छोराछोरी गरी एक सय ८३ जनाको ‘बायोमेट्रिक’ विवरण संकलन गरिएको थियो ।

नयाँ राहदानी बनाउन छ हजारले अनलाइन आवेदन भरेकाले सोही सङ्ख्याको हाराहारीमा दरखास्त संकलन हुने अनुमान गरिएको निर्देशक श्रीसले बताए । समयमै काम सक्ने गरी सेवा दिने प्रयास गरिएको बताउँदै तोकिएको दिन र समयमा अनिवार्य उपस्थित हुन उनले सेवाग्राहीलाई आग्रहसमेत गरे।

दश दिनसम्म सञ्चालन हुने शिविर लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावास, गैरआवासीय नेपाली संघ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली संघसंस्थाले समन्वय र सहजीकरण गरेका छन् । टोलीले अगस्त ११ तारिखसम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा दिनेछ ।

प्रतिक्रिया दिनुहोस्