नेपाल । लघुकथा समाज, नेपालले बर्सेनि प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’ र ‘धनमान लघुकथा पुरस्कार–२०८१’ को घोषणा गरेको छ ।
लघुकथा समाजद्वारा जारी विज्ञप्तिअनुसार ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान, २०८१’ हेटौँडाका लघुकथाकार आरआर चौलागाईं र ‘धनमान लघुकथा पुरस्कार’ भक्तपुरका लघुकथाकार श्याम आशालाई प्रदान गरिने भएको हो ।
लामो समयदेखि लघुकथा लेख्दै आएका चौलागाईंको विसं २०६५ मा ‘विघटनको तयारीमा’ लघुकथासंग्रह प्रकाशित छ । उनका फुटकर लघुकथाहरू पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।
त्यसैगरी, श्याम आशा लामो समयदेखि नेपाल भाषामा लघुकथा लेख्दै आएका सर्जक हुन् । उनका नेपाल भाषामा लेखिएका सात वटा लघुकथासंग्रह प्रकाशित छन् भने दुईवटा संग्रह नेपालीमा अनुदित छन् । ‘श्याम आशाका लघुकथा’ संग्रहको अनुवाद लघुकथाकार ध्रुव मधिकर्मीले गरेका छन् भने अर्को लघुकथासंग्रह ‘अघोषित आवाज’को अनुवाद साहित्यकार रासाले गरेका हुन् ।
लघुकथा समाजले दुई स्रष्टाको नाम चयन गर्नका लागि समाजका सल्लाहकार वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमको संयोजकत्वमा श्रीओम श्रेष्ठ ‘रोदन’ र तुलसीहरि कोइराला रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।
दुबै पुरस्कार तथा सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ भदौ ५ गते १७ औँ लघुकथा दिवसका अवसरमा सर्वनाम नाटक घरमा विशेष समारोहको आयोजना गरेर प्रदान गरिने छ भने ‘धनमान लघुकथा पुरस्कार’ भदौ ८ गते भक्तपुरमा आयोजना गरिने समारोहमा प्रदान गरिने समाजको विज्ञप्तिमा उल्लेख छ ।
लघुकथा समाजले भदौ ४, ५ र ६ गते विविध कार्यक्रमको आयोजना गरेर दिवस मनाउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्