९ मंसिर २०८१, आईतवार

अप्सरा तिम्सिना र दीपक मुडवरी स्मृतिविशेष रचनावाचन कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , July 28th, 2024

नेपाल (हेटौंडा) । शनिबार साहित्यकारद्वय स्व. अप्सरा तिम्सिना र स्व. दीपक मुडवरी स्मृतिविशेष रचना वाचन कार्यक्रम आयोजना सम्पन्न भएको छ । आँचल साहित्य कला पुञ्ज र साहित्य सङ्गम मकवानपुरको ३४५औँ नियमित साहित्य सन्ध्याका क्रममा संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गरिएको हो ।

शिक्षाविद् देव श्रेष्ठको प्रमुख आतिथ्य र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा सङ्गमका सल्लाहकार निमेष निखिलको विशिष्ट आतिथ्यता, आँचल साहित्य कला पुञ्जको संस्थापक मुना धिताल, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दनाको आतिथ्य रहेको थियो ।

स्रष्टाद्वय तिम्सिना र मुडवरीको स्मृतिमा मौनधारणबाट सुरू भएको कार्यक्रममा उहाँहरूका ३र३ रचनाहरू सबिता तिमल्सिना, भवानी तिमल्सिना, एलिजा गौतम, संप्रस पौडेल, सानु खनाललगायतका सर्जकहरूले वाचन गर्नुका साथसाथै श्रष्टाहरू राजुराम राउत, सुबास सजल, सानुभाइ विश्वकर्मा, किशन पौडेल, देवराज तिवारी, पुरूषोत्तम आचार्य, विष्णुप्रसाद गौतमलगायतले आ–आफ्ना रचना वाचन गर्नुभयो ।

स्व. तिम्सिनाका ‘अभ्यन्तर’ कथा सङ्ग्रह र ‘किनाराका आवाजहरू’ कविता सङ्ग्रह गरी दुई कृति प्रकाशित छन् । विसं २०६९ सालमा स्थापना भएको आँचलको नेतृत्वमा रहेर स्व. तिम्सिनाले मकवानपुरको साहित्यिक इतिहासमा उल्लेख्य योगदान दिनु भएको थियो ।

अठोट त्रैमासिक पत्रिका हेटौंडाबाट प्रकाशित स्व. मुडवरीले नेपालकै स्थापित तथा नव साहित्यसर्जकहरूका रचनाहरू प्रकाशन गराउनु भएको हो । अमेरिका निवास रहँदा नै केही अस्पष्ट रेखाहरु (२०७४) प्रकाशन गराउनु भएका मुडवरीको दोस्रो कविता सङ्ग्रह केही अतृप्त स्पर्शहरू प्रकाशनको तयारीमा हुँदाहुँदै देहान्त भएको हो । यसअघि उहाँले आफ्ना दिवङ्गत मातापिताको नाममा साहित्य सङ्गम मकवानपुरले व्यवस्थापन गर्नेगरी ‘सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार’ स्थापना गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्