–आरआर चौलागाईं–
उसले पत्रिकामा कविता पठायो । छापिएन ।
प्रतियोगितामा कविता प्रेषित गर्यो । छानिएन । यसरी वर्षौँ बित्यो । ऊ दिग्दार भयो । न कविता छापियो । न कविता नै छनौट भयो । उसको कवितामाथि कसैको दृष्टि परेन ।
उसले एउटा गज्जबको उपाय निकाल्यो । उसले पहिल्यै पठाइसकिएका पुराना कविताहरू स्त्रीनाममा पठायो । लगातार छापियो । स्त्रीनाममै प्रतियोगितामा कविता प्रेषित गर्यो । धमाधम छनौट भयो । पुरस्कृत पनि भयो र उसको ठेगानामा पुरस्कार समेत आयो ।
उसका कवितामाथि देशका नाम चलेका समालोचकहरूले समालोचना गरे । कसैले शोधपत्र लेखे भने कसैले उसको कवितालाई विदेशी भाषामा अनुवादसमेत गरे ।
अझ केही विद्वानले त यति समेत भने–‘नेपाली साहित्यमा आजसम्म यस्तो बेजोड कविता लेख्ने कवयित्री अरू छैनन् ।’
–हेटौंडा, मकवानपुर ।
(२०६५ सालमा प्रकाशित लघुकथासङ्ग्रह ‘विघटनको तयारीमा’ बाट)
प्रतिक्रिया दिनुहोस्