९ मंसिर २०८१, आईतवार

न्यूयोर्कमा मनाईयो २११औं भानु जयन्ती

कोलोराडोखबर संवाददाता , July 25th, 2024

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा च्याप्टरका अध्यक्ष साहित्यकार लक्ष्मी श्रेष्ठको अध्यक्षतामा २११ औं भानुजयन्ती मनाइएको छ ।

साथै च्याप्टर कार्यसमितिका सदस्य साहित्यकार शारदा क्षेत्रीको गजल संग्रह ‘स्मृतिका पानाहरु, मुक्तक संग्रह आँशुको उपहारको समीक्षात्मक कार्यक्रम न्यूयोर्क ज्याक्सन हाईट्स भान्छा घरको सभा हलमा बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो ।

अनेसासका आजीवन सदस्यहरू, साहित्यकारहरु तथा साहित्यनुरागीहरुको बाक्लो उपस्थितीमा आदिकबि भानुभक्त आचार्यको परिचयात्मक बिवरण, बिभिन्न स्रष्टाहरुबाट गजल तथा कबिता बाचन, साहित्यकार शारदा क्षेत्रीको गजल र मुक्तकको समिक्षा, श्रष्टा सम्मान आदि कार्यक्रमहरू समावेश गरिएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि शिक्षाविद साहित्यकार डा. गोविन्द कोईराला रहनु भएको थियो भने बिशेष अतिथिहरुमा अनेसास च्याप्टरका पूर्बअध्यक्ष हाल केन्द्रका उपाध्यक्ष साहित्यकार राजेन्द्र श्रेष्ठ एबं नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष साहित्यकार आनन्द श्रेष्ठ रहनु भएको थियो ।

कार्यक्रमको थालनीमा च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठका साथै उपस्थितद्वारा सामूहिक नेपाली राष्ट्रियगान र अमेरिकी राष्ट्रियगान पनि प्रस्तुत गरिएको थियो ।

यसैक्रममा अनेसास ट्रस्टी सदस्य ज्योती राई, कलाकार अभय ढुंगेल, समाजसेवी सोमनाथ घिमिरे, साहित्यकार पद्मा लिंखा मगर, अनेसासका आजिवन सदस्य एबं पत्रकार विष्णु सिंह बैजु, च्याप्टरका पूर्बअध्यक्ष साहित्यकार पूनम काफ्ले, पूर्ब उपाध्यक्ष साहित्यकार शान्ता घिमिरे, पूर्ब कोषाध्यक्ष वेदा खरेल, पेन्सलभेनिया च्याप्टरका पूर्ब अध्यक्ष साहित्यकार कुन्ति थापा, बर्तमान न्युयोर्क च्याप्टरका उपाध्यक्ष जानुका वस्ती ढकाल, सदस्य राधिका श्रेष्ठले श्रष्टालाई शुभकामना साथै रचना पनि वाचन गर्नुभएको थियो ।

कार्यक्रमलाई अघि बढाउँदै बिशेष अतिथि साहित्यकार राजेन्द्र श्रेष्ठले श्रष्टालाई शुभकामनाको साथै मन्तब्य ब्यक्त गर्दै कविता पनि वाचन गर्नुभएको थियो । उक्त बिशेष कार्यक्रमको संचालन च्याप्टरका पूर्ब अध्यक्ष हाल केन्द्रका सदस्य साहित्यकार शकुन ज्ञवालीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्