-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । ब्लड डोनर्स अफ अमेरिका (बीडीए), म्यासाच्युसेट्स च्याप्टरले बोस्टनमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
‘रक्तदान, जीवनदान’ भन्ने कथनलाई आत्मसात् गर्दै आयोजित उक्त कार्यक्रम, यही जुलाई २० तारिख शनिबारका दिन सम्पन्न भएको हो । कार्यक्रममा बिडिएका केन्द्रीय उपाध्यक्ष महेश्वर पन्त, केन्द्रीय सदस्य बिरोचन नेपाल, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष राम थापा, हिमालयन लायन्स क्लब अफ न्यू इङ्गल्याण्ड, डिष्ट्रिक ‘३३के’ का अध्यक्ष थानीरत्न कंडेल, समाजिक व्यक्तित्व माया खड्का थापालगायत ४२ जनाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रम प्रवासी नेपालीहरुले हालै सञ्चालनमा ल्याएको नरवुड टाउनको 956 Boston Providence Hwy, Norwood, MA-02062 अवस्थित एएफसि अर्जेन्ट केयर क्लिनिक (AFC-Urgent Care Clinic) मा आयोजना गरिएको थियो ।
म्यासाच्युसेट्स जनरल हस्पिटलको रक्तदान केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा, हिमालयन लायन्स क्लब अफ न्यू इङ्गल्याण्ड र नरवुड लायन्स क्लबको विशेष सहयोग रहेको थियो । कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी बनाउन एएफसि अर्जेन्ट केयर क्लिनिकका निर्देशक एवम् प्राइमरी ब्लड ड्राइभ चेयरपर्सन उमेश पनेरुले सहजिकरण गरेका थिए ।
कार्यक्रम आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिका, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष राम थापाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । कार्यक्रममा अपेक्षा गरिएको भन्दा बढि रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको बताउदै अध्यक्ष थापाले खुशी व्यक्त गरे । उनले आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले कार्यक्रम गर्ने बताउदै कार्यक्रमका रक्तदाता तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सन् २००९ मा स्थापित ब्लड डोनर्स अफ अमेरिकाले (बिडीए) ले गत अक्टोबर ११, २०२३ मा राम थापाको नेतृत्वमा म्यासाच्युसेट्स च्याप्टर गठन गरेको थियो। रक्तदान बारे जनचेतना जगाउने, रगत संकलन गर्ने र रक्तदानसंग सम्बन्धित अन्य क्रियाकलापहरु गर्ने मुख्य उद्देश्यका साथ च्याप्टर गठन गरिएसंगै संस्थाले आफ्ना गतिविधिहरुलाई तिब्रता दिदैआएको छ ।
अध्यक्ष थापाका अनुसार संस्थाले मास जनरल हस्पिटलको रक्तदान केन्द्रको प्राविधिक सहयोगमा आउँदो नोभेम्बर २, २०२४ र मार्च १, २०२५ का दिन पनि यस्तै रक्तदान कार्यक्रमको आयोजना गर्ने कार्यतालिका बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्