–रेणुका जिसी–
एक नारी, आमा अनि जागिरे महिलाले अनुभूत गरेका अनुभूतिहरूको समायोग हो साहित्यकार ज्ञानु अधिकारीको संवेदनाको समायोग । निजात्मक शैलीमा लेखिएका यी निबन्धहरू कोमल छन्, सरस छन् ।
‘म चाहन्थेँ, म संसारकै सबैभन्दा महान् आमा बनूँ । तिमीलाई आफ्नो काखको विशाल छहारीमा नै राखेर हुर्काऊँ । तिम्रा हरेक क्रियाकलापहरूलाई नजिकै बसेर नियालूँ । तिम्रा कलिला हात समातेर घर, आँगन, बगैँचा डुलूँ । प्रत्येक साँझबिहान कुनै खुला चउरमा तिमी उन्मुक्त भएर दौडन सिकेको हेरूँ र परको क्षितिजलाई देखाएर तिम्रो गन्तव्य त्यहीँ हो भनेर सिकाऊँ (पृ. ११) ।’ संवेदनाको समायोगको पहिलो निबन्ध ‘के म असल आमा बन्न सकेँ ?’ का अंश हुन् यी वाक्य ।
आफ्ना दुबै सन्तान अरू कसैको काखमा जिम्मा लगाएर दिनभर विद्यालयमा सिकाइरहँदा पटक पटक चिमोटिन्थेँ । ‘के म असल आमा बन्न सकेँ ? ’ यो निबन्ध पढ्दा सोही स्मृतिले छाती चसक्क भयो । आँखा रसायो । यो मातृ अनुभूति मेरो र लेखकको मात्र नभएर तमाम संघर्षशील आमाहरूका साझा अनुभूति हो जसलाई लेखकले बडो चित्ताकर्षक ढंगले प्रस्तुत गर्नुभएको छ ।
सात खण्डमा बाँडिएका संवेदनाको समायोगभित्रका ३७ निबन्धहरू पढ्दा लेखकका निजी आत्मप्रकटीकरण रहेको भावात्मक अभिव्यक्ति हो भन्ने लाग्छ । निबन्धकारले आफ्ना निजी भावनालाई अत्यन्त स्पष्ट रूपमा व्यक्त गर्नुभएको छ । लेखकको वैयक्तिक अनुभव केन्द्रमा रहेपनि पाठकले आफूलाई पनि निबन्धभित्र भेट्नु वा आफ्नो अनुभूतिलाई पनि समायोग गरिएको पाउनू लेखकको शक्ति हो ।
के म असल आमा बन्न सकेँ ? मात्र होइन स्वतन्त्रता र प्रेम जोडिएर आएका निबन्धहरू पढेपछि लेखक र आफ्ना केही भोगाइ समान रहेछन भन्ने थाहा लाग्यो । आफ्नो अनुभूति नै लेखिदिए जस्तो पनि लाग्यो । केही निबन्धहरूका विचारमा आफ्नो मत फरक भेट्टाएँ । समग्रमा निबन्धहरू अत्यन्त कोमल र हृदयग्राही छन् । सुन्दर कृतिका लागि ज्ञानु म्यामलाई धेरै बधाई तथा शुभकामना ।
–चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्