११ आश्विन २०८१, शुक्रबार

एनआरएनए एनसीसी अमेरिकाको १३औँ साधारण सभा तथा चौथो ज्ञान सम्मेलन सम्पन्न

कोलोराडोखबर संवाददाता , July 17th, 2024

–सुपेन्द्र बस्नेत (अमेरिका) । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसिसी), अमेरिकाको १३औँ साधारण सभा तथा चौथो ज्ञान सम्मेलन सम्पन्न भएको छ ।

गत जुलाई १३ र १४ तारिख (शनिबार र आइतबार) का दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित Holiday Inn Express Towson मा आयोजित साधारण सभा तथा ज्ञान सम्मेलन विविध विषयहरुमा महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको हो ।

साधारण सभाले प्रवासी नेपालीहरुलाई नेपाल सरकारले प्रदान गर्ने गैरआवासीय नेपाली नागरिकताको विषयलाई प्राथमिकताका साथ उठान गर्दै गहन छलफल गरेको थियो ।

एनआरएनएले लामो समयदेखि नेपाली नागरिकताको निरन्तरताको माग गर्दै आएकोमा, नेपाल सरकारद्वारा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नु एक हदसम्म अभियानको उपलब्धि नै भएको साधारणसभाले ठहर गरेको छ ।

यस उपलब्धिका लागि अभियानमा होमिएका व्यक्तित्वहरु र नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै साधारण सभाले यसको उपादेयताको व्यावहारिक पक्षप्रति भने असन्तुष्टिसहित सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराएको छ ।

साधारण सभाले प्रवासी नेपालीहरुलाई नेपाल सरकारले गैरआवासीय नेपाली नागरिता लिन ढोका खुला गरेको भएतापनि यसको कार्यान्वयन पक्ष निकै निष्क्रिय, जटिल, झन्जटिलो र अस्पष्ट रहेको निष्कर्ष निकाल्दै यसको व्यावहारिक पक्षको सुनिश्चितता गर्न नेपाल सरकारसँग जोडदार अपील गरेको छ ।

संकल्प प्रस्तावहरु पारित गर्ने क्रममा साधारण सभाले गैरआवासीय नेपाली संघ, आइसिसीको वर्तमान अवस्था निष्क्रिय र अन्योलग्रस्त रहेकाले संस्थालाई जीवन्त राख्दै वर्तमान संकटलाई पार लगाउन विश्वभरका एनसिसीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने ठहर गर्दै त्यसका लागि सबैलाई आव्हानसमेत गरेको छ ।

अध्यक्ष डा. अर्जुन बन्जाडेले संस्थाको नाममा गैर शब्द रहेकाले कतिपय अवस्थामा अनर्थ लाग्ने गरेको जिकिर गर्दै नाममा पुनर्विचार गर्नु पर्ने भनी गराएको ध्यानाकर्षणलाई साधारण सभाले संकल्प प्रस्तावमा समेटेको छ । त्यसैगरी, साधारण सभाले लामो समयदेखि संस्थाले व्यहोर्दै आएको विवादित दोहोरो करको अवस्थालाई समयमै सम्बोधन गरेर नेपाल र अमेरिकाबीचको सुमधुर सम्बन्धलाई थप कसिलो र आत्मीय बनाउनुपर्नेमा जोड दिइएको छ ।

साधारण सभाको दोस्रो दिनको बन्द सत्रमा विधान संशोधनका लागि मेम्बरसिप ड्राइभको विषयले प्राथमिकता पाएको भएतापनि आइसिसिको वर्तमान अन्योलताको कारण सोचेअनुरुप व्यवहारमा जान जटिल हुने ठहर गर्दै यथोचित प्रष्ट निर्णय हुन सकेन । तर, बन्द सत्रले दिएको सुझावहरु अनुसार विधानमा भएका भाषागत कमी कमजोरीहरुलाई सुधार गर्ने निर्णय भने गरिएको छ ।

त्यसैगरी, बन्द सत्रले बासु फुलराको संयोजकत्वमा रहेको वर्तमान निर्वाचन समितिलाई नै निरन्तरता दिने निर्णय गरेको छ भने सतेन्द्र शाहको संयोजकत्वमा जितेन्द्र ढकाल र सन्तोष तिमल्सिना सदस्य रहने गरी लेखा समिति गठन गरेको छ ।

त्यसैगरी, आगामी दिनहरुमा युवा पुस्तालाई संस्थाप्रति आकर्षित गर्ने, संगठित गर्ने र समुदायको हितका लागि युवा जनशक्तिलाई परिचालित गर्ने मुख्य उद्देश्यले संस्थाको विधानमा नै व्यवस्था गरेर वार्षिकरुपमा नै युवा सम्मेलन तथा युवाकेन्द्रित क्रियाकलापहरु गर्ने निर्णयसमेत गरेको छ ।

साधारण सभाले एनआरएनए, अमेरिका र नेपाल अमेरिका पत्रकार संघ (नेजा) बीच स्थापित सम्बन्धलाई निरन्तरता दिँदै थप मजबुत बनाउन भविष्यमा पनि आवश्यक सहकार्यहरु गर्दै जान निर्देश गरेको छ ।

सभाले अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रममाथि ज्यानै लिनेगरी हालै भएको आक्रमण ज्यादै निन्दनीय, घृणित र दुखद रहेको भन्दै उक्त घटनाको घोर भर्त्सना गरेको छ । त्यसैगरी, साधारण सभाले नेपालमा हालै गएको बाढीपहिरोका कारण धेरैको ज्यान गएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनहरुमा समवेदना प्रकट गरेको छ ।

बन्द सत्रले महासचिव रामहरि अधिकारीको संस्थागत प्रविवेदन र कोषाध्यक्ष सरोज सिग्देलको आर्थिक प्रतिवेदनलाई सदस्यहरुले दिएका सुझावहरुलाई समेटेर पारित गरेको छ।

साधारण सभाको कार्यतालिकाअनुसार जुलाई १२ तारिखको साँझ च्याप्टर नाइटको आयोजना गरिएको थियो । १३ तारिख बिहान साधारण सभा तथा ज्ञान सम्मेलनको उद्घाटन गर्दै चौथो ज्ञानसम्मेलन समपन्न गरिएको थियो । संस्थाको विज्ञान, प्रविधि तथा नवप्रवर्तन विभाग (Science, Technology and Innovation Department- STI) विभागको संयोजनमा भएको चौथो ज्ञान सम्मेलनमा, मुख्य गरी प्राकृतिक तथा व्यावहारिक विज्ञान, स्वास्थ्य विज्ञान र सामाजिक विज्ञान तथा उद्यमशीलता गरी तीन क्षेत्रलाई प्राथमिकता दिएर ८ जना विज्ञहरुले कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

त्यसैगरी, साधारण सभालाई सांगीतिक क्रियाकलापहरुमार्फत नेपाल र नेपालीसंग जोड्दै मनोरञ्जनात्मक बनाउन कलाकारहरुले विविध सांगीतिक कोसेलीहरुसमेत प्रस्तुत गरेका थिए ।

समग्रमा साधारण सभा सफलतापूर्वक सम्पन्न भएको आयोजकको दाबी छ । यस सम्बन्धमा संघका अध्यक्ष डा. बन्जाडेले साधारण सभा लक्ष्य र उद्देश्यअनुसार सफलतापूर्वक नै सम्पन्न भएको प्रतिक्रिया दिएका छन् ।

विविध कारणले एनआरएनए विषम परिस्थितिबाट गुज्रिरहनु परिरहेको अवस्थामा एनआरएनए, एनसिसी, अमेरिकाको साधारण सभा सम्पन्न भएको बताउँदै उनले खुशी व्यक्त गरे । साधारण सभाले विश्वभर सकारात्मक सन्देश छर्न सफल भएको उनको ठहर छ ।

साधारण सभाले महत्वपूर्ण निर्णयहरु गर्दै आगामी दिनहरुका लागि अमूल्य मार्ग निर्देश गरेको अध्यक्ष बन्जाडेले बताए । साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्षपरोक्षरुपमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिँदै उनले साधारण सभाले गरेको निर्णयहरुलाई कार्यान्वयन गर्न आफू नेतृत्वको कार्यसमिति प्रतिबद्ध भएर लाग्ने बताए । उनले संस्थाको गरिमा बढाउने अभियानमा सबैको साथ सहयोगको अपेक्षा गर्दै आत्मीय एकता र सक्रियताका लागि सबैलाई अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्