७ मंसिर २०८१, शुक्रबार

अमेरिकाको बोस्टनमा नेपाली वोमन्स ग्लोबल नेटवर्कको बनभोज कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , July 15th, 2024

-सुपेन्द्र बस्नेत (बोस्टन) । अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टनमा नेपाली मूलका नारीहरु आबद्ध संस्था ‘नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इंग्ल्याण्ड च्याप्टर (एनडब्लुजिएन) को बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली मूलका नारीहरुलाई एकताबद्ध गराइ मनोरञ्जनको माध्यमबाट आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने मुख्य उद्देश्यले जुलाई १४ तारिख आइतबार बनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा संस्था परिवारका साथै सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । एनडब्लुजिएनले समुदायको उत्थानका लागि पुर्याउँदै आएको योगदान र भावी दिनहरुमा खेल्नु पर्ने भूमिकाका बारेमा चर्चा परिचर्चा गरिएको कार्यक्रम, लक्ष्य अनुसार सफल भएको संस्थाको प्रतिक्रिया छ ।

संस्थाकी न्यू इंग्ल्याण्ड च्याप्टरकी अध्यक्ष कल्पना श्रेष्ठले कार्यक्रम उल्लासमय, मनोरञ्जनात्मक र उपलब्धिमूलक भएको प्रतिक्रिया दिइन् । उनले कार्यक्रमले मनोरञ्जन दिलाउनुका साथै नेपाली मूलका नारीहरुलाई थप एकताबद्ध गराउन र आपसी सम्बन्धलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरिन् । अध्यक्ष श्रेष्ठले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै प्रत्यक्षपरोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् ।

संस्थाकी सल्लाहकार रुक्मिणी कार्कीले पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जिकिर गरिन् । उनले कार्यक्रम मनोरञ्जनात्मक हुनुका साथै नेपाली नारीहरूलाई संगठित गर्न, आपसमा दुस्ख सुख साटासाट गर्न, आपसी सम्बन्धलाई थप कसिलो र रसिलो बनाउन महत्वपूर्ण माध्यम बनेको दावी गरिन् । संस्थाका गतिविधिहरुको चर्चा परिचर्चा गर्दै सिंहावलोकन गरिएको कार्यक्रमले भावी दिनहरुमा थप प्रभावकारी क्रियाकलापहरु गर्न अमूल्य उत्प्रेरणा र उर्जा थपिदिएको सल्लाहकार कार्कीको ठम्याइ छ ।

कार्यक्रममा संस्थाका सदस्यहरु र सहभागीहरुले एक आपसमा परिचय गर्नुका साथै विभिन्न खेलहरु पनि खेलेर मनोरञ्जन दिनेलिने प्रयास गरेका थिए । बारबेक्यूसहित मिष्ठान्न परिकारहरुको समेत व्यवस्था गरिएको बनभोज कार्यक्रमका सहभागिहरुले नेपाली नारीहरुलाई एकै ठाँउमा जमघट गराइ मनोरञ्जन दिलाउँदै एकताबद्ध गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यक्रम आयोजक संस्थालाई धन्यवाद दिएका थिए । उनीहरुले आगामी दिनहरुमा पनि नारी केन्द्रित आवश्यक प्रभावकारी क्रियाकलापहरु गर्नका लागि संस्था थप क्रियाशिल रहने अपेक्षा गर्दै संस्थाको प्रगति उन्नतिको कामनासमेत गरेका थिए ।

एनडब्लुजिएन मूख्य गरी नारी सशक्तिकरणको क्षेत्रमा केन्द्रिकृत भएर काम गर्ने मुख्य उद्देश्यले सन् २००२ मा स्थापित एक मुनाफारहित सामाजिक संस्था हो । संस्थाले आफ्नो क्षेत्र विस्तार गर्ने क्रममा सन् २०१६ मा न्यू इंग्ल्याण्ड च्याप्टर गठन गरेको थियो । स्थापनाकालदेखि नै यस च्याप्टरले विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्