९ मंसिर २०८१, आईतवार

ऋषिराम पोखरेलको ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , July 12th, 2024

नेपाल (हेटौंडा) । ऋषिराम उपाध्याय पोखरेल ‘बकिमहे’को अनुस्मरण कृति ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक गरिएको छ । सर्जक सञ्जाल मकवानपुरको आयोजना तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टको प्रायोजनमा बुधबार एक कार्यक्रमबीच कृति सार्वजनिक गरिएको हो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको सभाध्यक्ष तथा म्यानेजमेन्टका अध्यक्ष देवप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा कृति सार्वजनिकरण कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकार घनश्याम घिमिरे, शान्ति प्रियबन्दना र देवराज तिवारीले कृतिको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

समीक्षक घिमिरेले कृतिकारहरुले अनुस्मरणलाई स्वीकार गर्नुपर्ने बताउनुभएको छ । साहित्यमा सिद्धान्त भन्दा पनि सिर्जना महत्वपूर्ण र मुल विधाहरुमा विभिन्न उपविधाहरु हुने गरेको बताउनुभयो । साहित्यको सिर्जनाले सिद्धान्तलाई निर्माण गर्ने उहाँले बताउनुभयो । पोखरेलको कृतिमा लेखनको दृष्टिकोणले फरक गर्ने प्रयास देखिएको उहाँले बताउनुभयो ।

विचारको दृष्टिकोणबाट हेर्दा आफ्नो पहिरनअनुसार कृतिलाई समेटेको उहाँले बताउनुभयो । आफूले बाँचेको र आफूले भोगेको कुराहरुलाई कथागतरुपमा समेटिएको समीक्षक घिमिरेले बताउनुभयो । शैक्षिक जीवन, बाल्यकालको कुरा, पारिवारिक दायित्व निर्वाह गर्नुपर्ने र जिम्मेवारीको कुराहरुलाई कृतिमार्फत् समेटेको उहाँले बताउनुभयो । शिक्षकहरुले पूरा गर्नुपर्ने दायित्वलाई पनि कृतिले उजागर गर्न खोजेको उहाँको भनाइ छ । कलाको पक्षबाट मूल्याङ्कन गर्दा भाषाशैलीमा सुधार गर्नुपर्ने घिमिरेले बताउनुभयो । नारीवादी र कलात्मक दृष्टिकोणले कसरी प्रश्न गर्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्ने उहाँको भनाइ छ ।

समीक्षक प्रियबन्दनाले सामाजिक विकृति र विसंगतिलाई परिवारबाट नै उठान गर्नुपर्ने कुरालाई कृतिले बुझाउने कोसिस गरेको बताउनुभयो । विज्ञान र प्रविधिको युगमा मोबाइललाई बढी मात्रामा प्राथमिकता दिने कुरालाई समावेश गरेको उहाँले बताउनुभयो । बहुदलीय व्यवस्था ल्याएर शिक्षकहरुले दिएको योगदानलाई कृतिमा समेटिएको उहाँको भनाइ छ । नारीवादी दृष्टिकोणले महिलालाई कमजोर देखाएको उहाँको भनाइ छ ।

अर्का समीक्षक तिवारीले पोखरेलले जीवनमा गरेको अनुभवलाई समेट्ने प्रयास गरेको बताउनुभयो । यात्रा र प्रशासकीय शिक्षा क्षेत्रसँग जोडिएको अनुभवहरुलाई समेटेको बताउनुभयो । प्राविधिकरुपमा व्यङ्ग्य गरेर कृति लेखिएको उहाँले बताउनुभयो । विद्यालय बिग्रिनुको कारण शिक्षकको कमजोरीलाई खोजी गर्ने प्रयास गरेको उहाँले बताउनुभयो । मानिसहरुले रिसाउने कुरालाई आफैँले बुझ्नुपर्ने भन्ने विचारलाई समेटेको भन्दै कृतिमा केही क्लिष्ट शब्दको प्रयोग गरिएकाु उहाँले बताउनुभयो ।

हिन्दू धर्मावलम्बीहरुको महान चाडपर्वमा मानिसले आफ्नो अहमताको बली दिन नसकेर जनावहरुको बली दिने गरेको कुरालाई समेटिएको उहाँको भनाइ छ । भाषाको दृष्टिकोणले मूल्यांकन गर्दा हिन्दी, मैथिली शब्दहरुलाई जोडेर उत्कृष्ट बनेको तिवारीले बताउनुभयो । तथ्यगतरुपमा सही, गलत कुरालाई मूल्यांकन गरेर मात्र मानिसको आचोलना गर्नुपर्ने कुरालाई समेटिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभासदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले मकवानपुरमा साहित्य क्षेत्रको अनुसन्धान गर्ने क्रम घट्दै गएको समयमा कृतिमा धेरै बिम्बहरुको महसुस आफूले गरेको बताउनुभयो । लेखनमा स्थानीय कुरालाई झल्काउने प्रयास गरिएको उहाँको भनाइ छ । कृतिका लेखक पोखरेलले पुरुषोत्तम आचार्य, निमेष निखिल, सुवास खनाललगायतको सल्लाहमा समाजमा घटेको घटनाहरुलाई यर्थाथरुपमा प्रस्तुत गर्नका लागि कृति लेखेको उहाँले बताउनुभयो ।

सर्जक सञ्जालका संयोजक निखिलले लामो समयसम्म शिक्षाको क्षेत्रमा जीवन व्यतित गर्दाको अनुभवलाई समावेश गरिएको बताउनुभयो । लेखकहरुले पाठकलाई आकर्षण गराउन सक्ने गरी किताब लेख्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलालगायतले मन्तव्य राख्नुभएको थियो । –समृद्ध समाज दैनिकबाट

प्रतिक्रिया दिनुहोस्