५ माघ २०८१, शनिबार

नेदरल्याण्ड्स र टर्की यूरो कपको क्वाटरफाइनलमा

कोलोराडोखबर संवाददाता , July 3rd, 2024

अमेरिका । जर्मनीमा जारी यूरो कपमा रोमानियालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ।

म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३–० ले विजयी भएको हो ।​ २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।

दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे । रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले गल्ती गरेपछि गाक्पोको पासमा उनले गोल गरेका थिए ।

तेस्रो गोल मालेनले नै इन्ज्युरी समयको चौथो मिनेटमा गर्दै जित निश्चित गरे । नेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि टर्कीसँग खेल्नेछ।

त्यसैगरी अष्ट्रियालाई हराउँदै टर्कीले युरो कपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा मगलबार राति भएको खेलमा टर्कीले २–१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काए पनि बराबरी भने गर्न सकेन ।

खेलको पहिलो मिनेटमै डेमीरालले टर्कीलाई गोल दिलाएका थिए । आर्डा गुलरको कर्नरमा आएको बललाई अष्ट्रियाको डिफेन्सले क्लियर गरे पनि डेमीरालले ६ यार्ड बक्स भित्रबाट गोल गर्न सफल भए । दोस्रो हाफको ६६ औं मिनेटमा गुलरकै कर्नरमा उनले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

६६ औं मिनेटमा अष्ट्रियाले गोल फर्कायो । माइकल ग्रेगोरिस्चले क्लियर हुन नसकेको बलमा गोल गर्दै खेलमा फर्काए ।

टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । अन्य क्वाटरफाइनलमा स्पेनले जर्मनी, इंग्ल्यान्डले स्विटजरल्यान्ड तथा फ्रान्सले पोर्चुगलको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्