११ आश्विन २०८१, शुक्रबार

टीपीएलए कप भलिबल प्रतियोगितामा १० टिम सहभागी, आइतबार सांगीतिक प्रस्तुती (फोटोफिचर)

कोलोराडोखबर संवाददाता , June 30th, 2024

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) को सहआयोजनामा शनिबार र आइतबार अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।

प्रतियोगितामा विभिन्न १० टिमको सहभागिता रहेको छ । प्रतियोगिता शनिबार एक समारोहका बीच उद्घाटन भएको थियो । अमेरिका राज्य भरी छरिएर रहेका नेपाली युवाहरुको सहभागिताको साथै नेपाली समुदायबीच सुमुधुर सम्बन्धलाई प्रगाढ बढाउनु प्रतियोगिताको उद्देश्य हो ।

शनिबार तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्रबहादुर क्रोम्छे तमुको सभापतित्वमा एक बिशेष समारोहबीच प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको थियो ।

कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल, ग्लोबल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ, तमु धी कोलोराडोका अध्यक्ष चन्द्रमान तमु, एनआरएनए कोलोराडाको पूर्व अध्यक्ष रामचन्द्र पन्त, एनआरएनए एनसीसी अमेरिकाका बीओडी निमा शेर्पा, डेनभर मगर समाजका प्रतिनिधि टेक थापा, अफिसियल रेफ्री राजेन्द्र शेरचन, पूर्व नेपाली राष्ट्रिय खेलाडी कैलाश भट्ट र रोमन श्रेष्ठ तथा कोलोराडो तथा कोलोराडो बाहिरबाट उपस्थित सम्पूर्ण टिमका कप्तान र म्यानेजरहरुको आतिथ्य रहेको थियो ।

शनिबारको खेलबाट विजयीहरु टिमहरु बीच आइतबार सेमिफाइनल र फाइनल खेल हुनेछ ।

भलिवल खेलको फाईनल नतिजा लगत्तै आइतबार नेपाली घरमा तमु प्ये ल्हु अमेरिकाको साधारण सभा, बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम, तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ । कार्यक्रममा सहभागिताका लागि आयोजकहरुले कोलोराडोवासी सम्पूर्ण नेपाली भाषाभाषीहरुलाई अनुरोध गरेका छन् । उक्त कार्यक्रममा चर्चित गायिका रिमा गुरुङ र नेपाली तार पहिलो सिजनका विजेता सन्तोष लामाको विशेष सांगीतिक प्रस्तुती रहने छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार र द्वितीय हुने टिमलाई ४ हजार डलर पुरस्कारको व्यवस्था गरिएको छ । साथै अन्य विभिन्न विधामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरुलाई अवार्डको व्यवस्था गरिएको छ ।

तमु प्ये ल्हु अमेरिकाको दशौं वार्षिक उत्सवको अवसरमा जुन ३० तारिखका दिन नेपाल घरमा छलफल अन्तरक्रिया कार्यक्रम, भेषभुषासहितको झाँक्री प्रदर्शन, सांगीतिक प्रस्तुती र कार्यक्रममा सहभागीहरुलाई टिपिकल (गुरुङ जातिको) नेपाली खानाको व्यवस्था रहेको तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्रबहादुर गुरुङले बताउनु भयो ।

प्रतियोगिता व्यवस्थापन समितिको संयोजकमा चन्द्र गुरुङ र सहसंयोजकमा कैलाश गुरुङ रहनु भएको छ । संयोजक चन्द्र गुरुङ एनआरएनए कोलोराडो च्याप्टरका युवा संयोजक हुनुहुन्छ ।

कोलोराडोमा पहिलो पटक इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी शुरु

कोलोराडोमा हुने इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता मूल आयोजक समिति गठन

अमेरिकाको कोलोराडोमा हुने इन्टर स्टेट ‘टीपीएलए कप २०२४’ का लागि टिम दर्ता खुला

अमेरिकाको कोलोराडोमा हुने इन्टर स्टेट ‘टीपीएलए कप २०२४’ को तयारी अन्तिम चरणमा

कोलोराडोमा शनिबार-आइतबार आयोजित भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको तयारी पूरा

प्रतिक्रिया दिनुहोस्