अमेरिका । आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ ।
शनिबार राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो ।
भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ५१, क्विन्टन डी ककले ३९, ट्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन बनाएपनि हार टार्न सकेनन् ।
बलिङतर्फ भारतका अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्डेयले समान २–२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । भारतका लागि खेलमा ओपनर विराट कोहलीले ७६, अक्षर पटेलले ४७ र शिवम् दुवेले २७ रन बनाए ।
बलिङतर्फ दक्षिण अफ्रिकाका एनरिच नोर्किया र केशव महाराजले समान २–२ तथा मार्को जनसेन र कगिशो राबाडाले समान १–१ विकेट लिए। १ विकेट भने रनआउटका रुपमा प्राप्त भएको थियो ।
यसैबीच भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी– ट्वान्टी आईबाट सन्यासको घोषणा गरका छन् ।
प्रतिक्रिया दिनुहोस्