–आर.आर. चौलागाईं–
पानी सुकेर
खेतहरु बाँझै पल्टिएका छन्
पातहरु झरेर
डाँडापाखाहरु सबै रित्तिएका छन्
घाउहरु फेरि बल्झिएका छन्
ओखतीहरु निख्रिएर
गाउँहरु निख्लाम थाकेका छन्
जोस र जाँगरहरु सिद्धिएर ।
खै, यसपालि त किन हो !
असार पनि फुल्न सकेन
मङ्सिर पनि झुल्न सकेन
बादल बनेर तिमी
यतातिर पनि गर्जिदेऊ
चुत्रो र ऐँसेलुका झाङहरु
तिम्रै प्रतीक्षामा पङ्क्तिबद्ध छन्
खुख्खा नागी र खर्कहरु
तिम्रै अभिनन्दनको तयारीमा छन् ।
स्यालहरुका आवाजले
नानीहरु सुत्न सकेका छैनन्
निशाचरहरुको बिगबिगीले
भालेहरु बास्न सकेका छैनन्
टुकीहरु फेरि निभेका छन्
बतासका झोक्काहरुले
हिँड्दाहिँड्दै छाँगाछुर भिरमा
बाटो बिर्सेका छन् यात्रीहरुले ।
खै, यसपालि त किन हो !
घाम पनि झुल्किन सकेन
जून पनि टल्किन सकेन
बिहानी भएर तिमी
हाम्रोतिर पनि आइदेऊ
अँध्यारा छिँडीहरु
तिम्रै बाटो पर्खिरहेका छन्
चिसा चुलाहरु
तिम्रै उज्यालो खोजिरहेका छन् ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्