५ माघ २०८१, शनिबार

टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका शनिबार भिड्ने

कोलोराडोखबर संवाददाता , June 28th, 2024

अमेरिका । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् ।

बिहीबार राति भएको सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले हरायो । १७२ रनको लक्ष्य पाएको इङ्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अलआउट भएको थियो । भारतका अक्सर पटेल र कुलदीप यादवले ३–३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।

इङ्ल्यान्डका लागि ह्यारि ब्रुकले २५, जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए । फिल साल्टले ५, मोइन अलीले ८ र साम करनले २ रन बनाए भने जोनी बेयरस्टले खाता खोल्न सकेनन् । लायम लिभिङ्स्टनले पनि १ रन मात्र जोड्न सके ।

पहिलो सेमिफाइनलमा बिहीबार बिहान अफगानिस्तानलाई ९ विकेटले हराएर दक्षिण अफ्रिकाले फाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिका पहिलोपटक फाइनल पुगेको हो भने भारत सन् २००७ मा आयोजित पहिलो संस्करणको विजेता हो । भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

भारतले फाइनलमा दक्षिण अफ्रिकासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्