५ माघ २०८१, शनिबार

यूरो कपबाट ८ टोली बाहिरिए, अर्को चरणमा कुन कुन पुगे ? 

कोलोराडोखबर संवाददाता , June 27th, 2024

अमेरिका ।  यूरोकप २०२४ अन्तरगतको नकआउट समीकरण पूरा भएको छ ।

बुधबार राति समूह चरणका सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो ।

यसैबीच पहिलो पटक युरो खेलिरहेको जर्जियाले सानदार प्रदर्शन गर्दै पोर्चुगललाई २-० ले पराजित गरेको छ ।

यता, बुधबार रातिनै भएको समूह ई को दुवै खेल बराबरीमा सकिएको छ । स्टुटगार्डमा बेल्जियम र युक्रेनले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा फ्रांकफर्टमा रोमानिया र स्लोभाकियाले पनि १–१ को बराबरी खेले ।

समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगललाई स्तब्ध पारेपछि जर्जियाले युरो २०२४ मा पहिलो जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

सहभागी २४ टोलीमध्ये ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेक रिपब्ल्कि समूह चरणबाटै बाहिरिए ।

अन्तिम १६ मा स्पेनले जर्जियासँग खेल्दा जर्मनी र डेनमार्कले एक अर्काको सामना गर्नेछन् । यी दुई खेलको विजेताले क्वाटरफाइनलमा भिड्ने छन् । त्यस्तै पोर्चुगल र स्लोभेनियाको विजेताले सेमिफाइनलमा पुग्न फ्रान्स र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

रोमानिया र नेदरल्यान्ड्स एक अर्कासँग खेल्दा अष्ट्रिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । यी मध्ये एक टोलीले इंग्ल्याण्ड र स्लोभाकिया तथा स्विटजरल्यान्ड र इटालीको खेलको जित्ने टोलीबिचको विजेतासँग खेल्नेछन् ।

शनिबारदेखि राउन्ड अफ १६ चरण सुरु हुनेछ । क्वाटरफाइनलका खेल जुलाई ५ बाट खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस्