अमेरिका । युरो कप २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएको छ ।
जर्मनीको कोल्नमा इंग्ल्यान्ड र स्लोभेनियाको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन । यससँगै इंग्ल्यान्ड ५ अंकका साथ समूह विजेताको रुपमा अन्तिम १६ पुगेको छ ।
डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान ३–३ अंक भएपनि कम पहेंलो कार्डका आधारमा डेनमार्क समूह उपविजेता बन्यो ।
स्लोभेनिया पनि अन्तिम १६ मा पुग्दा २ अंक जोडेको सर्बिया भने बाहिरिएको छ ।
यता, युरो कप २०२४ को समूह चरणको अन्तिम खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । पोल्याण्ड विरुद्ध १–१ को बराबरी खेलेसँगै फ्रान्सले समूह विजेता बन्ने मौका गुमाएको छ ।
गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो । उसमान डेम्बेले माथि भएको फाउल पछि पाएको पेनाल्टीमा चोट पछि फर्किएका कप्तान केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । पोल्याण्डले ७९औं मिनेटमा बराबरी गर्यो ।
फ्रान्सको बराबरी पछि सोही समयमा नेदरल्याण्ड्स माथि ३–२ को जित निकालेको अष्ट्रिया समूह विजेता बन्यो ।
प्रतिक्रिया दिनुहोस्