नेपाल । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएसँगै अर्याल निलम्बनमा परेका छन् ।
सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए स्वतः निलम्बन हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको व्यवस्था अनुसार उनी निलम्बनमा परेका हुन् ।
मुख्यसचिव अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव लीलादेवी गडतौलाले स्वतः निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छन् ।
अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव अर्यालसहित ९ जना सरकारी कर्मचारी तथा दुई जना ठेक्का पाएका कम्पनीका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता हो ।
अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेको छ ।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रतिवादीहरूमा मुख्यसचिव अर्यालसहित, अर्थ सहसचिव रितेशकुमार शाक्य, भन्सार विभागका टेकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल रहेका छन् ।
पौडेलविरुद्ध यसअघि पनि अख्तियारले सुरक्षण मुद्रण प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ र उनी हाल हिरासतमा रहेका छन् । त्यसैगरी आन्तरिक राजश्व विभागका गणेशविक्रम शाही, सूचना प्रविधि केन्द्रका सफल श्रेष्ठसहित शाखा अधिकृत रविन्द्र प्रसाद पौडेल र लेखा अधिकृत विष्णु प्रसाद गौतमलाई पनि प्रतिवादी बनाएको छ ।
त्यस्तैगरी कर्मचारीहरू हरि वल्लभ घिमिरे र शक्तिप्रसाद श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ । त्यस्तै अख्तियारले अन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाएको कम्पनी प्रिन्स सेल र त्यसका निर्देशक केशव शर्मालाई पनि प्रतिवादी बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्