४ माघ २०८१, शुक्रबार

कोपा अमेरिका कप फुटबल शुरु, उद्घाटन खेलमा अर्जेन्टिनाद्वारा क्यानडा पराजीत

कोलोराडोखबर संवाददाता , June 21st, 2024

अमेरिका । कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

अमेरिकामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको क्यानडाले दोस्रो हाफको ४९ औं मिनेटमा गोल खान पुग्यो ।

दोस्रो हाफको चौथो मिनेटमा अर्जेन्टिनाका जुनियर अल्भारेजले पहिलो गोल गर्दै अग्रता दिलाए । खेलको ८८औँ मिनेटमा मार्टिनेजले गोल गर्दै जित सुनिश्चत गरे ।

क्यानडाले कोपा अमेरिकामा पहिलो पटक सहभागिता जनाएको छ । १५ पटकको विजेता अर्जेन्टिनाले समूह एमा पहिलो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यो समूहमा पेरु र चिली रहेका छन् ।

यस संस्करणमा १० दक्षिण अमेरिकी टोलीहरूसहित उत्तर र मध्य अमेरिका र क्यारेबियनका ६ टोलीहरु समावेश गरिएका छन् ।

क्यानडाको अर्को खेल बुधवार पेरुसँग हुनेछ भने सोही दिन अर्जेन्टिनाले चिलीसँग खेल्नेछ। जुन २९ मा समूह चरणको खेलमा क्यानडाले चिली र अर्जेन्टिनाले पेरुसँग खेल्नेछन् ।

कोपा अमेरिका कप फुटबल प्रतियोगिता २०२४ को ४८ औं संस्करण शुक्रबारदेखि अमेरिकामा सुरु भएको हो ।

प्रतियोगितामा पहिलो पटक १६ टोलीले खेल्न लागेका छन् । प्रतियोगिताको १०८ वर्षको इतिहासमा पहिलो पटक कोपा अमेरिकामा १६ टोली सहभागी भएका हुन् ।

प्रतियोगितामा सहभागी टिमको समूह बिभाजन
समूह एः अर्जेन्टिना, पेरु, चिली, क्यानडा

समूह बीः मेक्सिको, इक्वेडर, भेनेजुएला, जमैका

समूह सीः अमेरिका, उरुग्वे, पानामा, बोलिभिया

समूह डीः ब्राजिल, कोलम्बिया, पाराग्वे, कोस्टारिका

प्रतिक्रिया दिनुहोस्