सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकामा रहेका प्रवासी नेपालीहरुद्वारा सञ्चालित अमेरिकन फ्यामिली केयर अर्जेन्ट केयर क्लिनिक (AFC-Urgent Care Clinic) ले आफ्नो सेवाहरु दिन सुरु गरेको छ ।
अमेरिकाको म्यासाच्युसेट्स राज्यको नरउड टाउनको 956 Boston Providence Hwy, Norwood, MA-02062 मा अवस्थित यस क्लिनिकको औपचारिक उद्घाटन गरी आफ्ना सेवाहरु दिन सुरु गरिएको हो । जुन १८ तारिख मंगलबारका दिन आयोजित विशेष कार्यक्रममा क्लिनिकका प्रमुख कार्यकारी अधिकृत सुशीलचन्द्र पौडेल र मेडिल डाइरेक्टर डाक्टर अशोक देवकोटाले संयुक्त रुपमा रिबन काटेर क्लिनिकको औपचारिक उद्घाटन गरेका थिए ।
नेपोन्सेट रिभर रिजनल चेम्बर अफ कमर्सका अध्यक्ष टिम म्याक्केबले उद्घाटन कार्यक्रमलाई अघाडि बढाउदै क्लिनक सञ्चालक परिवारको कामलाई खुलेर प्रशंसा गरेका थिए । उनले नरउडमा नयाँ एएफसि अर्जेन्ट केयर सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै सञ्चालकहरुलाई बधाई ज्ञापन गर्नुका साथै सफलताका लागि शुभकामनासमेत दिएका थिए । उनले कार्यक्रमको दौरानमा द कमनवेल्थ अफ म्यासाच्युसेट्सको राज्य प्रतिनिधि जोन एच रोगर्सका तर्फबाट हाउसका स्पिकर रोनाल्ड मारियानोद्वारा हस्ताक्षरित प्रशंसासहितको बधाई तथा शुभकामना पत्र क्लिनिक परिवारलाई प्रदान गरेका थिए । उनले क्लिनिक सञ्चालक समूहमा सक्रिय रहेका व्यक्तित्वहरुको परिचयसमेत गराएका थिए ।
कार्यक्रममा नोरफोक काउन्टीका कमिसनर रिचार्ड आर स्टैटी, नरउड टाउन अफिसियल तथा फायर डिपार्टमेन्टका प्रमुख, नेपाली समुदायका सामाजिक अभियान्ताहरुलगायत नरउडवासीहरुको उपसथिति रहेको थियो । उनीहरुले क्लिनिक सञ्चालनमा ल्याएकोमा निकै खुशी हुदै क्लिनिक परिवारलाई बधाई तथा शुभकामनादिएका थिए ।
उद्घाटन कार्यक्रमको दौरानमा सम्बोधन गर्दै क्लिनिकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशीलचन्द्र पौडेलले लामो प्रतिक्षा पछि क्लिनिक सञ्चालनमा आएकोमा निकै खुशी व्यक्त गरे । समुदायको लागि स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने भावनाले केही साथीहरु मिलेर सुरु गरिएको अभियानले सार्थकता पाएकोमा क्लिनिकका सिइओ पौडेलले गर्व गर्दै अहोरात्र खटेर साझा सपनालाई सार्थक बनाउन साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे । सम्बोधनका क्रममा उनले संस्थाको मुख्य ध्येयका बारेमा जानकारी गराउदै क्लिनिकले प्रदान गर्ने सेवाहरु आवश्यक परेमा लिनका लागि सम्झन सबैलाई अनुरोधसमेत गरे ।
क्लिनिकका मेडिकल डाइरेक्टर डाक्टर अशोक देवकोटाले स्वास्थ्य सेवाहरु प्राप्त गर्न कठिन हुदै गइरहेको परिस्थितिमा सञ्चालनमा ल्याइएको क्लिनिकले नरउड र आसपासमा रहेका समुदायलाई तत्काल स्वास्थ्य सेवाहरु प्रादन गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उनले सञ्चालनमा आएको स्वास्थ्य सेवा केन्द्र दक्ष जनशक्ति र स्वास्थ्य परिक्षणका लागि ल्याबसहित उपकरणयुक्त रहेको दाबी गर्दै सेवाग्राहीहरुलाई छिटो, छरितो, राम्रो र उच्च गुणस्तरीय स्वास्थ्य सेवाहरु प्रदान गर्न क्लिनिक प्रतिबद्ध रहेको बताए । निर्देशक देवकोटाले तत्काल स्वास्थ्य सेवाहरु लिनु पर्ने भएमा एएफसि अर्जेन्ट केयर सेन्टर, नरउडमा आउनसमेत सबैलाई अनुरोध गरे ।
उद्घाटन गरिएसंगै क्लिनिकले जुन १९ बुधवारदेखि नै नियमित रुपमा आफ्ना सेवाहरु सेवाग्राहीहरुलाई प्रदान गर्न सुरु गरेको क्लिनिकका बजार तथा व्यापार निर्देशक उमेश पनेरुले जानकारी दिए । उनले दिएको जानकारी अनुसार सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नका लागि सेवा केन्द्र हप्ताको सातै दिन खुलाइने छ । निकट भविश्यमै अमेरिकाको अर्को राज्य न्यू हेमसायरमा पनि आफ्नो सेवा विस्तार गर्ने गरी आवश्यक तयारीको भइरहेको र भविश्यमा अमेरिकाको अन्य सहरहरुमा पनि सेवा विस्तार गर्ने योजना रहेको क्लिनिकका बजार तथा व्यापार निर्देशक पनेरुले जानकारी दिए ।
उक्त क्लिनिकको मुख्य सञ्चालन र व्यवस्थापनमा अमेरिकामा स्वास्थ्य, व्यवस्थापन र व्यापार क्षेत्रमा सक्रिय रहेका प्रवासी नेपालीहरु रहेका छन् । अमेरिकामा स्वास्थ्य क्षेत्रमा स्थापित अमेरिकन फ्यामिली केयरको फ्र्यान्चाइज्ड लिएर यो क्लिनिक सञ्चान गरिएको हो । जो अमेरिकामा प्रवासी नेपालीहरुको लगानी र व्यवस्थापन सञ्चालनमा ल्याइएको पहिलो अर्जेन्ट केयर क्लिनिक भएको सञ्चालकहरुको दाबी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्