११ पुष २०८१, बिहीबार

एनआरएनए अष्ट्रेलियाद्वारा पाँच लाख ८८ हजार डलरमा कार्यालय भवन खरिद

कोलोराडोखबर संवाददाता , June 15th, 2024

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अष्ट्रेलियाले सिड्नीमा आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ ।

पाँच लाख ८८ हजार डलरमा खरिद गरिएको भवनमा अबदेखि एनआरएन अष्ट्रेलियाले आफ्नो प्रशासनिक र अन्य कार्यहरु सञ्चालन गर्न लागेको हो ।

बिहीबार न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले एक समारोहकाबीच वैदिक मन्त्रोच्चारणका साथ कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यूसाउथवेल्सका प्रिमियर मिन्सले नेपाली समूदायको खुलेर प्रशंसा गरे ।

नेपालीको बाक्लो बसोबास गरेको रकडेल, कोग्राका सांसद समेत रहेका उनले अष्ट्रेलियालाई आफ्नो घर बनाउन सफल सबै नेपालीहरुलाई बधाई दिएका छन् । कार्यालय भवन खरिदका लागि २ लाख १० हजार डलर सरकारी अनुदान समेत प्राप्त भएको छ ।

कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सबै नेपालीका लागि यो गर्वको विषय भएको र एनआरएन अष्ट्रेलियासँग विगतमा झै हातेमालो गर्दै काम गर्न नेपाल सरकार, नेपाली दूतावास तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एनआरएन अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटाले सन् २००५ देखिको एनआरएन अभियानले एउटा नयाँ कोशेढुंगा थपेको बताए । एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्षहरु मन केसी, गोवा कटवाल, ध्रुव सुवेदी, गणेश केसी, महेन्द्र ओली, सुरेन्द्र सिग्देल, टोनु घोताने, केशव कँडेलले पनि शुभकामना मन्तव्य दिँदै आफ्नै कार्यालय खरिद गरी सञ्चालन गर्ने सफलता साँच्चै उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे ।

मेरिल्याण्ड्समा रहेको कार्यालय भवनको साँचो अध्यक्ष अनिल पोखरेलले न्यूसाउथवेल्स संयोजक विनोद कुँवर र नारी निकुञ्ज अष्ट्रेलियाकी अध्यक्ष संगीता चपागाईंलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन एनआरएन न्यूसाउथवेल्सका सचिव कल्याण खड्काले गरेका थिए ।

कार्यालयमा आफ्नै बोर्डरुमका साथै ५० जनासम्म बसेर एकैपटक कार्यक्रम गर्नसकिने हल रहेको छ । यहाँ नेपाली भाषाको कक्षा, नृत्य कक्षाका साथै विभिन्न सामूदायिक संघसंस्थाको कार्यक्रम गर्नेस्थलका रुपमा साथै एनआरएनको प्रशासनिक कार्यका लागि पनि प्रयोग गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्