–लक्ष्मी ‘रेशमी’–
खोला तरेपछि टेकेको लौरो फाल्नेहरु
उचाईमा पुगेर धरातल फर्की नहेर्नेहरु
झुकेकै छन् जराबाट फुलेर फलेकाले
सर्वेसर्बा ठान्छन् टुप्पोबाट पलाएकाहरु
नहटाउनु खोँचका टुइन, झोलुङ्गे पुलहरु
बनाइराख्नु पहाडमा अझै अग्लो भ्युटावरहरु
तैँ चुप मैँ चुप सबै चुप बसेकाले
झरिरहनेछन् खच्चड र स्कुलजाने बचेराहरु
खस्नुपर्ने तिमी थियौ खसे ती अबोधहरु
बचाइराख अझै पनि तिम्रा ती सिंहासनहरु
गाउँ गाउँ सहर सहर सिँहदरबार पसेकाले
भोगिरहेछन् बिना अपराध प्राणै लिने सजायहरु ।
–चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्