१० मंसिर २०८१, सोमबार

श्रीराम अधिकारीका तीन गजल

कोलोराडोखबर संवाददाता , June 15th, 2024

-श्रीराम अधिकारी-

१.
ओरालो झरेपछि उकालो आयो
सायद मेरो अग्लिने पालो आयो ।

हातको ठेला अझै निको भाको छैन
आज बिहानै भेट्न कोदालो आयो ।

यो मुटुको पाखो बेचिसके पछि
गोड्मेल गर्छु भन्दै खेतालो आयो ।

नाम्लो त पुरानै हो फेरेको छैन
आज नयाँ डोको आयो डालो आयो ।

हात छउन्जेल कोही आएनन् भेट्न
जब हात काटियो अंगालो आयो ।

ब्यबस्था फेरियो भन्छ सरकार
कालोको सट्टा सेतो बिरालो आयो ।

२.
बुझ्न त बुझियो जिन्दगी अलि ढिलाबाट
गुनासो छैन् किन बुझिनछु पहिलाबाट ।

ति उदास अनुहारहरु नै प्रिय लाग्छन्
घरिघरी धोका पाएदेखि हँसिलाबाट ।

ए मूर्ख हो किताब भित्र संसार नखोज
मैले मेहेनत सिकेको हुँ कमिलाबाट ।

स्टेफनको आत्मबिश्वास पढेपछी लाग्यो
ब्रम्हाण्ड जोड्न सम्भब छैन दरिलाबाट ।

३.
त्यो ओठमा खुशी एकदिन जरुर मिल्छ
यात्रा भरि यस्तै भनिदिने चतुर मिल्छ ।

सबै भन्छन् जिन्दगिको आफ्नै लय हुन्छ
मेरो मात्रै न ताल मिल्छ न सुर मिल्छ ।

कहिल्यै नमिल्ने कुरालाइ पनि उस्ले
कति सहजै भनिदिन्छ हजुर मिल्छ ।

ए साहू तिमी त छातासॅग मात्रै मिल्छौ
घाम पानीसॅग केवल मजदुर मिल्छ ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्