– रमेशचन्द्र घिमिरे-
***
फोन गर्दा गर्दा नउठेर हत्तुहैरान भएपछि खोज्दै खोज्दै ऊ नेताज्यूको घरमा नै पुग्यो अनि घरको गेटमा भएको स्विच थिचेर बेल बजायो । कहीँबाट केही प्रतिक्रिया आएन । स्विचकै अल्लि माथि सानो टिनको पत्तामा लेखिएको थियो – कुकुरदेखि सावधान । ‘कुकुर भए त भुक्नु पर्ने थियो । साइनबोर्ड मात्रै रहेछ ।‘ उसलाई एकातिर दिक्क लाग्यो अनि आश्चर्य पनि लाग्यो ।
उसले विगत सम्झँदै मनमनै सोच्यो –‘चुनावको घोषणा हुनासाथ नेताज्यू सबैभन्दा पहिले मैलाई भेट्न गाउँमा जान्थे र मेरै घरमा बास बस्थे । यहाँ आउँदा बासको त कुरै छाडौँ, मेरै फोनसमेत उठाउँदैनन् ।‘
साँच्नै नै ऊ गाउँको मुखिया जस्तै थियो भने नेताज्यूका लागि भोट बैङ्कको म्यानेजर जस्तै । उसका कुरा धेरै गाउँलेहरूले मान्थे पनि । गुलियो सपना बाँड्न नेताज्यू धेरै सफल थिए । ‘मैले चुनाव जितेँ भने मकहाँ आउनू अनि विकास निर्माणका लागि गर्नुपर्ने के के छन्, त्यसको विवरण पनि ल्याउनू । म सक्दो सहयोग गर्छु ।‘ नेताज्यूले एकान्तमा उसलाई मात्रै सुटुक्क भन्न समेत भ्याएका थिए –‘छोराछोरीलाई कतै जागिर लगाइदिनू पर्यो भने पनि मलाई सम्झनू ।‘
नेताज्यूले चुनाव जितेरै छाडे । गाउँलेहरूमा अब आश पलायो । गाउँलेहरूको सल्लाह मागेर धेरै जसो गाउँका विकासका काम अनि थोरै आफ्ना व्यक्तिगत काम लिएर नेताज्यूको शरण पर्न ऊ शहर गएको थियो । घरबाट हिँड्नुअघि फोनमा कुरा हुँदा नेताज्यूले नभनेका होइनन् –‘यतै शहरमा आउनु न ! म छँदैछु नि !‘
शहर झरेपछि आफू आएको जानकारी गराउन फोन गर्दा फोन नेताज्यूले नउठाएपछि अरू कसैले उठाए र ‘उहाँ व्यस्त हुनुहुन्छ, म कल ब्याक गर्न लगाउँछु‘ भनेर फोन राखे तर फोन आएन ।
आखिर केही सीप नचलेपछि उसले नयाँ आइडिया लगायो र सानो चिट लेखेर साइनबोर्ड नजिकै खुसुक्क राख्यो जसमा लेखिएको थियो –‘नेताज्यू नमस्कार ! म हजुरको गाउँले कार्यकर्ता, हजुरको अति व्यस्तताले भेट हुन सकेन । बरु शहर आएपछि हजुरले व्यवहार मात्रै होइन नाम समेत फेर्नुभएको कुरा मैले साइनबोर्ड हेरेर थाहा पाएँ । यो सावधानीको सूचनाका लागि हजुरलाई धेरे धेरै धन्यवाद !‘
***
प्रतिक्रिया दिनुहोस्