१० मंसिर २०८१, सोमबार

लघुकथाः चुरा

कोलोराडोखबर संवाददाता , June 8th, 2024

–आरसी रिजाल–
बा बितेको तेत्तिको याद नआए पनि आमाले रुँदै भुइँमा हात बजारीबजारी चुरा फुटाएको सम्झना मेरो मानसपटलबाट हट्न सकेको छैन।

हामलाई स्कुल पठाएर आफू माली गाई चराउन वा घाँस सोत्तर गर्न जानुहुन्थ्यो । स्कुल बिदा भएको दिन दिदीलाई केके काम अराएर उहाँ मेला वा पर्ममा जानुहुन्थ्यो ।

दशैंमा हामीलाई नयाँ कपडा किन्दिन हुन्थ्यो ।उहाँको शरीरमा भने फाटेका वा जडौरी कपडामात्र हुन्थे । खान बस्दा हामीलाई दहि दिनहुन्थ्यो ।आफूचाँहि ठेकी खकालेर पिउनु हुन्थ्यो ।

हामी बिरामी हुँदा उहाँको हत्केला वा तिघ्रा हाम्रो सिरानी हुन्थे । हाम्रो मायाले उहाँ रात छर्लङ्ग काट्न हुन्थ्यो । कहिलेकाहीँ उहाँ पनि बिरामी पर्नुहुन्थ्यो होला । तर हामीलाई आभास हुन दिनुभएन ।कहिले औषधि खाएको थाहा भएन ।

म तीन कक्षामा पढ्थे हुँला ।आमा सिकिस्त हुनुभयो । मामा आएर डोकोमा बोकि अस्पताल लैजानु भयो । गाई हेर्न परेकोले दिदीको स्कुल छुट्यो । ७ दिनपछी आमा डोकैमा फर्किनु भयो । त्यसपछि मलाई स्कुल नपठाएर जिन्दगी जिउने साहसिक कुरा सुनाउदै सङ्गै राख्नुभयो । एकदिन मुख आँ गरेर– बाबू मलाई पानी ख्वाइदे भन्नू भयो ।गिलासको पानी बिस्तार दुई घुट्की खुवाएँ । यहि उहाँको अन्तिम इच्छा रहेछ ।

दिदी आएर आमाआमा भनी रुन लागि । मैले– दिदी घरको मान्छेको निधन हुँदा चुरा फुटाउन पर्छ । आमाले चुरा फुटाएको तिमिले बिर्सियौ भने । दिदी झन् चिच्याई । मैले– बरु पछी फेरि लागाउलीस् आमाको लागि त्यत्ति गर्देउ भने ।आमाको टाउको मैले आफ्नो तिघ्रामा राखेँ । रोक्दारोक्दै मेरा आँसु तपतप आमाको निधारमा झरिरहे झरिरहे… !!!

-हेटौंडा, मकवानपुर ।

 

 

प्रतिक्रिया दिनुहोस्