८ मंसिर २०८१, शनिबार

नेपाल र नेपालीलाई विश्व सामु चिनाउन समरभिल सिटीमा सांस्कृतिक महोत्सव सम्पन्न

कोलोराडोखबर संवाददाता , June 3rd, 2024
सबै तस्बिरहरुः सुरेन्द्र नापित

-सुपेन्द्र बस्नेत (अमेरिका, बोस्टन) । अमेरिकाको म्यासाच्युसेट्स राज्यको समरभिल सिटीमा आयोना गरिएको ‘समरभिल नेपाली सांस्कृतिक महोत्सव–२०२४’ भव्यताका साथ सम्पन्न भएको छ ।

गत जुन १ तारिख शनिवार एनआरएनए, म्यासाच्युसेट्स च्याप्टर र समरभिल सिटी अन्तर्गतको समरभिल कला परिषद एवम् समरभिभा आप्रवासी मामिलाको कार्यालयद्वारा संयुक्त रुपमा आयोजित महोत्सव भव्यताका साथ सम्पन्न भएको हो । नेपाली भाषीहरुलाई संगठित गर्ने, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, परम्परा, पहिरनआदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्ने र समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको थियो ।

एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठको अध्यक्षता रहेको उक्त कार्यक्रमको उद्घाटन एनआरएनए, एनसिसि, अमेरिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि डाक्टर अर्जुन बन्जाडेले पानसमा बत्ती बालेर गरेका थिए ।

महोत्सवको उद्घाटन लगतै नेपाली क्लास बोस्टनका बालबालिकाहरुले नेपाली र अंग्रेजी राष्ट्रिय गान गाएका थिए । बालबालिकाहरुले नेपालको झण्डा फरफराउदै नेपालको राष्ट्रिय गान गाउदा गुञ्जिएको स्वरले कार्यक्रम स्थल नेपालमय बन्न पुगेको थियो ।

एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरकी सचिव सलोनी भन्डारी र महिला सचिव स्नेहा पन्थीले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रमले नेपालीपन, नेपाली पहिचान, नेपाली शान, स्वाभिमान र एकतालाई सम्बोधन गर्न सफल भएको प्रमुख अतिथि डाक्टर बन्जाडेको ठम्याइ थियो ।

‘विविधतामा एकता’ नै नेपालको विशेष विशेषता भएको जनाउदै उनले कार्यक्रम नेपाल र नेपालीका लागि निकै महत्वपूर्ण रहेको जिकिर गरे । उनले समरभिल सिटीले विगत लामो समयदेखि नै नेपाली समुदायको उत्थानका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै समरभिल सिटी र अन्य सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे। कार्यक्रमकी विशेष अतिथि समरभिभा आप्रवासी मामिलाको कार्यालयकी निर्देशक मारिया टेरेसा नागेलले दुर्भाग्यबस सुन्दर देश नेपाल भ्रमण गर्ने अवसर अझैसम्म नमिलेको तर नेपालका बारेमा आफू जानकार रहेको बताइन् । सम्बोधनका क्रममा उनले नेपालमा रहेका अनेक जातजातिहरु र भाषा भाषीहरुबिचको एकताको खुलेर प्रशंसा गरिन्। ।

एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक राजु गुरुङले स्वागत गरेको कार्यक्रममा, गोभर्नस् एण्ड इमिग्रेन्ट अफ कमन वेल्थ अफ म्यासाच्युसेट्सका चियरम्यान प्रल्हाद केसी, समरभिभा आप्रवासी मामिलाको कार्यालयका संयोजक परशुराम फुयाललगायतले मन्तव्य व्यक्त गरेका थिए । औपचारिक कार्यक्रमको अन्तमा, अध्यक्ष प्रचण्ड श्रेष्ठले कार्यक्रम प्रवासमा रहेका नेपालीहरुको उत्थानमा टेवा पुर्याउने मुख्य उद्देश्यले आयोजना गरिएको बताए । उनले कार्यक्रम आयोजना गर्न साथ सहयोग गर्ने समरभिल सिटी र प्रत्यक्षपरोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

औपचारिक कार्यक्रमको समापन भएसंगै दोश्रो चरणमा विविध सांगीतिक कार्यक्रम सञ्चालन गरिएको थियो । संगीतिक कार्यक्रममा कलाकारहरुले नेपालमा विद्यमान रहेका विभिन्न जातजातिहरुको भाषा, पहिरन, परिचान, संस्कृति, परम्परा, रितिरिवाजआदि सक्दो झल्काउने गरी सांगीतिक कोसेलीहरु पस्केका थिए । सांगीतिक कार्यक्रमको अर्को आकर्षण थियो, लोक दोहोरी गायक मिन केसी र अमेरिकन नागरिक अन्ना एम स्टिरबीचको आकर्षक दोहोरी घम्साघम्सी । नेपाली भाषा, संस्कृति, गीत संगीतआदिको संरक्षण, संवर्धन र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउदै आएका कलाकारहरुको प्रस्तुतिमा सहभागीहरु नाच्दै गाउदै रमेका थिए ।

तस्बिर : सुरेन्द्र नापित

कार्यक्रम स्थलमा नेपाली पहिरन र पहिचान दिलाउने लत्ताकपडा र सरसामानहरुको स्टलहरु राखिनुका साथै नेपाली स्वादका स्वादिष्ट परिकारहरु पनि उपलब्ध थिए । यसै अवसरको सदुपयोग गर्दै नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने मुख्य उद्देश्यले जानकारीमूलक स्टलन पनि राखिएको थियो । नेपालीहरुसहित अमेरिकनहरुको पनि उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरुले नेपाली परिकारहरुको स्वाद चाख्दै गीत संगीतको माहोलमा भरपूर मनोरञ्जन लिएका थिए ।

तस्बिरहरुः सुरेन्द्र नापित

प्रतिक्रिया दिनुहोस्