अमेरिका । अमेरिकाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको जित हात पारेको छ । अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको हो ।
१९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे ।
ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।
समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ ।
त्यसैगरी आइतबारनै सम्पन्न अर्को खेलमा वेस्ट इन्डिजले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई पराजित गरेको छ । वेस्ट इन्डिजले पिएनजीलाई ५ विकेटको पराजित गरेको हो ।
पिएनजीले दिएको १३७ रनको विजयी लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा पुरा गर्यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले सर्वाधिक ४२ रनको जोडे । ब्रान्डन किंगले ३४ र निकोलस पुरनले २७ रनको योगदान दिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको गुमाएर १३६ रन बनाएको थियो ।
समूह डी मा रहेको नेपालले मंगलबार नेदरल्यान्ड्ससँग ग्राण्ड प्रेरीमा पहिलो खेल खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस्