३ माघ २०८१, बिहीबार

आईसीसी टी-२० विश्वकप अमेरिकामा शुरु, नेपालसहित २० टोलीले प्रतिस्पर्धा गर्दै

कोलोराडोखबर संवाददाता , June 2nd, 2024

अमेरिका । आइतबारदेखि अमेरिकामा आईसीसी टी-२० विश्वकप अमेरिकामा शुरु भएको छ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ ।

उदघाटन खेलमा आइतबार अमेरिका र क्यानडाबीच प्रतिष्पर्धा हुँदैछ । आयोजक अमेरिका र क्यानडाबीच हुने उद्घाटन खेल टेक्ससको डलासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुनेछ ।

यसपटक वेस्ट इन्डिजको ६ र अमेरिकाको ३ रंगशाला गरि ९ रंगशालामा विश्वकपको खेल हुँदैछ ।

यता नेपालले आगामी मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ ।

वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्न लागेको हो भने अमेरिकाले पहिलो मौका पाएको हो ।

प्रतियोगिताको इंग्ल्याण्ड साविक विजेता टोलीको हो। इंग्ल्याण्डले सन् २०२२ मा अष्ट्रेलियामा भएको विश्वकपको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि चुमेको थियो ।

प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन् । पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो ।

सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानसँगै क्यानडा, आयरल्याण्ड र आयोजक अमेरिका रहेका छन् ।

यस्तै समूह ‘बी’मा साविक विजेता इंग्ल्याण्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् भने समूह ‘सी’मा न्युजिल्यान्ड, आयोजक वेस्ट इन्डिज, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा तथा समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेपाल र नेदरल्याण्ड्स रहेका छन् ।

सबै समूहको शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन् । उक्त आठ टोलीलाई सुपर आठमा चार–चार टोलीको दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहको शीर्ष दुई स्थानमा रहने चार टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलको विजेता टोली २९ जुनमा हुने फाइनल खेलमा उपाधिको लागि भिड्नेछन् ।

हालसम्म विश्वकपका आठ संस्करण सकिँदा वेस्ट इन्डिज र इङ्ल्यान्डले दुई तथा भारत, पाकिस्तान, श्रीलंका र अस्ट्रेलियाले समान १ पटक उपाधि उचालेका छन् ।

टी–२० विश्वकपको पहिलो संस्करण आयोजना गर्ने जिम्वेवारी दक्षिण अफ्रिकाले पाएको थियो। प्रतियोगिता सन् २००७ को सेप्टेम्बर ११ देखि २४ सम्म भएको थियो । जहाँ १२ राष्ट्रले सहभागिता जनाएका थिए। प्रतियोगिताको उपाधिका लागि चिरपरिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तान भिडेका थिए । पाकिस्तानलाई ५ रनले पराजित गर्दै भारत पहिलो संस्करणको च्याम्पियन बन्यो ।

प्रतिक्रिया दिनुहोस्