–रमेशचन्द्र घिमिरे–
पुस्तक पसल धाउनु किन बित्थामा ?
पढ्न पाइन्छ पत्रिका हाम्रै भित्तामा
***
बजार गई पत्रिका किन्नु नपर्ने
खोज्दै पुस्तकालय हिँड्नु नपर्ने
पल्टाउनु पर्दैन यसै देखिन्छ
भोलिदेखि आफू नि केही लेखिन्छ
***
यति राम्रा अक्षर यी कसका होलान् खै ?
म नि यस्तै लेख्ने हो सिकाइदिनु है ?
रङ्गीचङ्गी चित्र छन् हेर्दा चिटिक्कै
मेरो मन रमायो देख्ने बित्तिकै
***
साथीभाइका रचना यसमा देखेर
मैले पनि कविता ल्याएँ लेखेर
यदु सरलाई भनेर टाँस्न लाउने हो
बरु अर्को अङ्क पो कहिले आउने हो ?
***
आऊ साथी सोहन आऊ सविता
पढौँ यसमै रमाई कथा कविता
यसमै खोजौँ चित्र र यसमै पढौँ जोक
मलाई पनि जागेको छ सिर्जनाको भोक ।
***
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्